प्रत्येक प्रदेशमा दुई ठूला जलविद्युत् आयोजना

काठमाडौं: काठमाडौं-अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटले प्रत्येक प्रदेशमा दुई ठूला जलविद्युत् निर्माण गरी ‘उज्यालो नेपाल’ बनाउने घोषणा गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

बजेटमा भौगोलिक प्रतिकूलताका कारण जलविद्युत् आयोजना बनाउन नमिल्ने प्रदेशमा सौर्य आयोजना निर्माण गरिने उल्लेख छ। प्रदेश नं. २ मा जलविद्युत् आयोजना निर्माण गर्न भौगोलिक हिसाबले अनुकूल छैन।

जलविद्युत्, जैविक, सौर्य, वायुलगायतका नवीकरणीय ऊर्जाको उपयोगबाट ऊर्जाको पहुँच कम भएका प्रदेश नं. २, कर्णाली र सुदूर पश्चिम प्रदेशलाई सर्वप्रथम पूर्ण रुपमा ‘अँध्यारोमुक्त प्रदेश’ बनाइने बजेटमा छ। प्रदेश नं. २ मा हालसम्म एक किलोवाट पनि जलविद्युत् उत्पादन भएको छैन। यो प्रदेशमा ७९.७७ प्रतिशत विद्युत् पहुँच पुगेको छ।

त्यसैगरी कर्णाली प्रदेशमा २७.०३ प्रतिशत जनतामा मात्र विद्युत् पहुँच छ। हाल कर्णालीमा जम्ममा ७.१६ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ। कर्णालीका ६ नगरपालिकासहित ४३ वटा स्थानीय तहमा अझसम्म बिजुली नपुगेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०७:३१