विकासको विरोध गरेर चुनाव जित्छु भन्ने सपना नदेख्न सांसद महेश बस्नेतको चेतावनी

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता सांसद महेश बस्नेतले विकासको विरोध गरेर चुनाव जित्छु भन्ने सपना कसैलाई नदेख्न चेतावनी दिनुभएको छ । बालकोट सिरुटार हुँदै बिरुवा पुग्ने सडक विस्तार र कालोपत्रे गर्ने कामको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले विरोध गरी राजनीति गर्ने परम्परा पुरानो भइसकेको जिकिर गर्नुभयो ।उहाँले विकास निर्माणका काम गरी जनतालाई प्रत्यक्ष देख्ने गरी काम गर्दै राजनीति गर्न आग्रह गर्नुभयो ।

उपत्यकाभित्रका ३ जिल्लामा ललितपुरको सैबु भैंसेपाटी, काठमाडौँको बुढानीलकण्ठ र भक्तपुरको बालकोट क्षेत्र सम्भावनाको क्षेत्रमा रहेपनि वर्षौँदेखि बालकोट उपेक्षामा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘आजकाल त्यस्तो छैन । बालकोटको देशमा मात्र होइन । अन्तर्राष्ट्रिय रूपमै चर्चा हुन्छ । मुलुकको प्रधानमन्त्री बस्ने स्थान हो बालकोट, कुनै राजनीतिक सन्दर्भ बुझ्न परेपनि बालकोटको धारणा के रैछ भन्ने गरिन्छ । त्यो प्रधानमन्त्री केपी ओलीको निवास बालकोट भएको कारण हो । त्यसैले पनि यो ठाउँ पहिले जस्तो पछाडि पर्छ भनेर नसोचौं ।’


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ०९:१५