सगरमाथा आरोहण मार्गमा भएको चापका कारण आरोहीको ज्यान गएको होइन: पर्यटन विभाग

काठमाण्डौ: पर्यटन विभागले सगरमाथामा आरोहण मार्गमा चाप भएको कारण आरोहीको ज्यान गएको भन्ने खबरको खण्डन गरेको छ ।

विभागका महानिर्देशक डुण्डुराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै मे २२ र २३ मा सगरमाथाको माथिल्लो मार्गमा आरोहीहरुको बाक्लो उपस्थिति रहेको भए पनि आरोहण मार्गमा भएको चापकै कारण ज्यान गएको भन्ने कुरा सत्य नभएको बताउनुभएको छ ।

कतिपय पुराना भिडियो र फोटो प्रयोग गरेर सगरमाथाप्रति दुष्प्रचार गरेको भन्दै विज्ञप्तिमा हिमाल आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील हुने भएकोले दुःखद् घटना हुन सक्ने बताइएको छ । विज्ञप्तिमा आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएको भन्दै यस्ता गम्भीर विषयमा प्रचार गर्दा संवेदनशील हुन विभागले आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ती,


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १३:०३