क्यानबेरामा प्रकोप सम्मेलन गर्दै एनआरएनए अष्ट्रेलिया

क्यानबेरा । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी मार्च २७ तारिखका दिन क्यानबेरामा प्रकोप र महामारी विषयक सम्मेलन गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाको डिजास्टर, इमरजेन्सी र क्राईसिस म्यानेजमेन्ट टास्क फोर्सको आयोजनामा प्रकोप सम्मेलन हुन लागेको हो ।

आगामी मार्च २७ तारिख शनिबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म हार्मोनिक जर्मन क्लब क्यानबेरामा हुने कार्यक्रममा अष्ट्रेलियाका सबै राज्यका सम्वन्धित क्षेत्रका विज्ञ ,एनआरएनए अभियन्ता, सामाजिक अगुवा, पत्रकार र ब्यवसायीहरूको सहभागिता रहनेछ ।

सम्मेलनको स्थानिय रुपमा गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एसिटी राज्य समितिले ब्यवस्थापन गर्ने भएको छ ।

एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले नेपाली दूतावास क्यानबेरा, नेपाल साइन्स फाउन्डेसन ट्रस्ट, अस्ट्रेलियन नेप्लिजन मेडिकल एण्ड डेन्टल एसोसिएसन (एम्डा) र फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया फेन्काको सहकार्यमा कार्यक्रम हुन लागेको जानकारी गराउनुभयो ।

अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालको प्रमुख आतिथ्यता हुने सो कार्क्रममा एनआरएनका पूर्व अध्यक्ष डा. शेष घलेले “कि नोट स्पिकर” को रुपमा स्थापना कालदेखि अहिलेसम्म एन आर एनले नेपाल र डायस्पोरामा गरेका मानवतादावादी कार्यहरुका बारेमा बोल्नुहुने तय भएको छ ।

अस्ट्रेलियाका विभिन्न राज्यहरु र अन्य देशहरुबाट सहभागी विज्ञहरुले प्रकोप र महामारीमा केन्द्रित रहेर १० वटा कार्यपत्रहरू पेश गर्ने भएका छन् ।


प्रकाशित | ७ चैत्र २०७७, शनिबार ११:१२