बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो कोपा डेल रे फुटबलको उपाधि

काठमाडौं: लगातार चार सिजनको च्याम्पियन बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।आइतबार बिहान भएको फाइनल खेलमा भ्यालेन्सियाले बार्सिलोनामाथि २–१ को जित निकाल्दै उपाधि पोल्टामा पारेको हो ।

यससँगै युरोपियन च्याम्पियन्स लिगबाट आउट भएको बार्सिलोनाको घाउमा भ्यालेन्सियाले अर्को चोट थपिदिएको छ । बार्सिलोना यो उपाधि जितेर च्याम्पियन्स लिगमा व्यहोरेको निराशामा थोरै भए पनि मल्हम लगाउन चाहन्थ्यो । तर, उसको सपना भ्यालेन्सियाले चकनाचुर पारिदियो ।

रियल बेटिसको घरेलु रंगशाला बेनिटो भिल्मारिन स्टेडियममा भएको खेलमा भ्यालेन्सियाले पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो । २१औं मिनेटमा केभिन गेइमेरोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३३औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेल २–० बनाए ।

त्यसअघि पनि बार्सिलोना १ गोल खानबाट जोगिएको थियो । खाली पोस्टमा जेरार्ड पिकेले १ गोल हुनबाट बचाएका थिए ।

त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत बार्सिलोनाका लागि ७३औं मिनेटमा कप्तान लिओनल मेस्सीले १ गोल गरेर खेल २–१ बनाए । तर, त्यसपछि उसले थप गोल गर्न सकेन । र, खेल भ्यालेन्सियाले २–१ ले जित्यो ।

यससँगै भ्यालेन्सियाले ११ वर्षपछि आठौंपटक कोपाको उपाधि जितेको छ । भर्खरै सकिएको सिजनमा बार्सिलोना ला लिगा च्याम्पियन बनेको थियो भने भ्यालेन्सिया चौथो स्थानमा रहँदै सिजन पूरा गरेको थियो ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार ०७:१५