बेलायतमा काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयरमा निर्वाचीत

शिव भण्डारी/लन्डन

काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित हुनुभएको छ । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन्।

बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो । उपमेयरमा निर्वाचित भए पछि सबैलाई धन्यवाद दिंदै गुरुङले भन्नुभयो, ‘मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउनु हुनेछ । मैले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्नेछु । बेलायतको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन पाउंदा म गौरवान्वित र सम्मानित भएको ठानेको छु ।’

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आउनुभएको छ । उहाँको श्रीमती शोभा, दुर्इ छोरी र एक छोरा हुनुहुन्छ । उहाँ गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित हुनुभएको थियो । बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उहाँले पुराएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्ड बाट सम्मानीत पनि हुनुभएको थियो ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १६:१५