श्रम स्वीकृति रोकिएकोप्रति एनआरएनए सेसेल्सको आपत्ति

सेसेल्स : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेसेल्स, क्रोएसिया र मौरिससको श्रम स्वीकृति रोकेको भन्दै नेपाली श्रमीकहरु तरंगित बनेका छन । रसिया-युक्रेन युद्धका कारण ती मुलुकमा असुरक्षा रहेको भन्दै मन्त्री श्रेष्ठले श्रम स्वीकृति जारी नगर्न मौखिक आदेश दिनुभएको हो।

यता सेसेल्समा कार्यरत नेपाली श्रमिकहरु भने ‘रसिया-युक्रेन’ युद्धका कारण सेसेल्समा कुनै असर नपरेकोले सेसेल्सको श्रम स्वीकृति रोक्नुपर्ने कुनै आधिकारिक र तार्किक कारण नभएको बताउँछन् ।

विगतमा व्यक्तिगत श्रम स्वीकृति लिएर सहज अनि सुरक्षित आवतजावत गर्ने गरेका नेपाली श्रमीकहरुको चासो र गुनासोलाई गैर आवासीय नेपाली संघ सेसेल्सले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिक तथा अफ्रिका क्षेत्रीय उपसंयोजक आरपी पन्तले श्रम स्वीकृति रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउनु भयो ।

बिक र पन्तद्धयले भन्नु भयो, ‘समाचार आएलगत्तै नेपालमा श्रम मन्त्रालय र नेपालका लागि सेसेल्सका बाणिज्य दूतको समेत ध्यानाकर्षण गराइसकेका छौं, श्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन प्रणाली मार्फत सहज बनाउनका निम्ति केहि दिन रोक्नुपरेको हो, छिट्टै सेवा सुचारु हुने श्रम मन्त्रालय तथा बाणिज्य दूतले आश्वासन दिनु भएको छ ।’

गत मार्च १८ देखि २० सम्म मन्त्री श्रेष्ठले सेसेल्सको भ्रमण गर्नु भएको थियो । उक्त भ्रमणका क्रममा नेपालीहरुमाझ बोल्दै सेसेल्समा नेपालीहरुको बैदेशिक रोजगार सहज, सुरक्षित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । नेपाली श्रमीकहरुका लागि सेसेल्सलाई एक सुरक्षित,भरपर्दो र आकर्षक गन्तव्यका रुपमा लिइन्छ ।


प्रकाशित | १९ चैत्र २०७८, शनिबार १८:४८