ग्रीजम्यान अनुबन्धको विपक्षमा बार्सिलोनाका प्रमुख खेलाडी

एजेन्सी: स्पेनिस बार्सिलोनाले फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान अनुबन्ध गर्ने तयारी गरेको चर्चा सरुवा बजारमा चुलीमा छ । बार्सिलोनाले गत जनवरीबाटै एथ्लेटिको मड्रिडका खेलाडी तोकेको थियो ।

स्पेनिस मिडियाले ग्रीजम्यानको विषयमा फरक–फरक रिपोर्टहरू प्रकाशित गरेका छन् ।केहीले ग्रीजम्यान बार्सिलोना अनुबन्धको धेरै नजिक पुगेको उल्लेख गरेका छन् भने धेरैजसोले बार्सिलोनाले ७ नम्बर जर्सीधारी खेलाडी भित्र्याउनेमा अनिश्चितता बढेको जनाएका छन् ।

केही ठूला सञ्चार संस्थाले भने बार्सिलोनाका कप्तान लिओनल मेस्सी नै ग्रीजम्यान अनुबन्धको पक्षमा नरहेको खबर छापेका छन् । अघिल्लो दिन ‘डायरियो स्पोर्ट’ ले ‘बार्सिलोनाको ड्रेसिङ रुम भन्छ– नो ग्रीजम्यान’ शीर्षकमा प्रमुख समाचार छापेको थियो ।

सो समाचारअनुसार कप्तान मेस्सीसहित बार्सिलोनाका अधिकांश प्रमुख खेलाडी ग्रीजम्यानलाई सहज अवस्थामा स्वागत गर्ने पक्षमा छैनन् । ग्रीजम्यानका कारण बार्सिलोनाको डे«सिङ रुममा समस्या सिर्जना हुनसक्ने बताइएको छ ।

त्यसमा टोलीका प्रमुख खेलाडी तथा कप्तान मेस्सी स्वयं ग्रीजम्यानभन्दा अन्य खेलाडी भित्र्याउनुपर्ने पक्षमा देखिएको बताइन्छ । त्यसै पनि बार्सिलोनाका सर्वाधिक सफल र टोलीका प्रमुख खेलाडी साथै कप्तानसमेत भएकाले खेलाडी छनौटमा उनको पनि विशेष मत रहने गर्छ ।

यही भएर पनि बार्सिलोनाको बोर्ड अहिले मेस्सीको योजना र ड्रेसिङ रुमको अवस्थाप्रति जानकार रहेकाले ग्रीजम्यानसँग सम्झौता गर्न आनाकानी गरिरहेको बताइछ । ग्रीजम्यानका सर्त पूरा गरेर अनुबन्ध गर्दा बार्सिलोनाका थुप्रै खेलाडी बेखुसी हुने बताइन्छ ।

यो कुरा बुझेका कप्तान मेस्सीले २८ वर्षीय ग्रीजम्यानभन्दा टिमका लागि कुनै राम्रो युवा खेलाडी भित्र्याउनुपर्ने पक्षमा रहेको बताइन्छ । मेस्सी भविष्यलाई समेत ख्याल गरेर युवा खेलाडीका लागि क्लबले सोच्नुपर्ने पक्षमा देखिन्छन् ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १४:००