साना डेरी उद्योग धमाधम गाभिँदै: देशभरी ५ हजार भन्दा बढी घरेलु डेरी रहेको अनुमान

किरण आचार्य /काठमाडौं   

गुणस्तरीयताको मापदण्ड पूरा नगरेका भन्दै सँधै आलोचित बन्दै आएका साना लगानीका डेरी उद्योगहरू मर्जरमा जान थालेका छन् । सरकारले सबैखाले डेरी उद्योगलाई कानुनी मापदण्डभित्र ल्याउने व्यवस्था गरेपछि उद्योग व्यवस्थित साना उद्योगीहरू जुटेका हुन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २०७५ असोज ४ गते स्वीकृत गरेको ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ गत चैतबाट मुलुकभर लागू भइसकेको छ । निर्देशिकाअनुसार सानाठूला सबै उद्योगले तोकिएको मापदण्ड अनुसारको दूध मात्र बिक्री गर्न पाउँछन् । जसअनुसार प्याकेजिङ र लेभलिङसमेत पर्दछन् । साना उद्योगले लेभलिङ र प्याकेजिङ गर्दा खर्चिलो हुने भएकाले दीर्घकालीन रूपमा सहजताका लागि डेरीहरू मर्ज गर्ने र संयुक्त रूपमा ठूलो उद्योग स्थापना गर्न थालिएको हो ।

राष्ट्र बैंकले बैंकहरूलाई मर्जरमा जान प्रोत्साहन गरेजस्तो कृषिमा नभए पनि उद्योगीहरू आफैँ मिलेर मर्जरको काम गरिरहेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए । “दुग्ध क्षेत्रमा पटक पटक कुनै न कुनै बहानामा आक्रमण भइ नै रहेको छ, कोलिफर्मको कारण देखाएर दूध उद्योग धारासायी गराउन थालिएपछि २०७० यता डेरीहरू विस्तारमै मर्जमा जान थालेका छौं,” उनले भने, “पछिल्लो मापदण्डपछि मर्जरमा जानेको संख्या ह्वात्तै बढेको छ र यो उद्योगीका लागि फाइदाजनक पनि छ ।” उनले मर्जरमा जान चाहनेलाईमन्त्रालयले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

संघका अनुसार करिव एक सयको संख्यामा डेरीहरू गत वर्षयता मात्र मर्जमा गइसकेका छन्् । संघमा आवद्ध डेरी मात्र २७५ वटा छन् । देशभरी ५ हजार भन्दा बढी घरेलु डेरी रहको अनुमान छ, जसको उत्पादन ५० लिटरदेखि १ हजार लिटरसम्म क्षमता छ । एसोसिएसनमा महासचिव आवद्ध धुम्बाराही डेरीसमेत पाँच वर्षअघि २५ घरेलु डेरी संचालकसमेत गरी ४५ जनाको लगानीमा खुलेको डेरी हो । डेरीहरू मर्जमा जाँदा विद्यमान घरेलु डेरी भएको स्थानलाई विक्री केन्द्रको रूपमा चलाउने र बहुउत्पादन क्षमताको ठूलो डेरी प्लान्ट राख्ने गरिदै आइएको छ । यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ ।

एक्लैले गर्नुभन्दा धेरैले गर्दा व्यवस्थित हुने भएकाले मर्जरमा गएर व्यवस्थित बिजनेस गर्न थालको अनुभव मर्जरमा जानेहरूको छ । “एकल रूपमा काम गर्दा सम्भावना कम हुने भएको, सबैको सहयोग र साथ रहने र व्यवस्थित हुने महसुस गरि हामी १९ साना डेरी मर्ज गरेर ठूलो उद्योग स्थापना गर्दैर्छौं,” मर्जरमा गएर बन्दै गरेको हिमालयन डेरी एण्ड एग्रोभेट सेन्टर काभ्रेका संचालक सदस्य रवीन्द्र हुमागार्इंले भन्छन्, “प्याकेजिङ गरेर गुणस्तरिय उत्पादन बजारमा लैजाने तयारी गरिरहेका छौं ।” एक वर्षअघि काभ्रेको अनुप डेरी प्रालि २५ घरेलु डेरी मर्ज गरेर बनाइएको थियो । काभ्रेकै बनेपामा शुभारम्भ डेरी आउदैछ भने काभ्रेकै नालामा विनायक डेरी पनि मर्जबाट आउँदैछ ।

मुलुकभर दैनिक करिव ५० लाख लिटर दूध कारोबार हुन्छ । जसमध्ये ३३ प्रतिशत दूध साना डेरी वा अनौपचारिक क्षेत्रमा गइरहेको छ भने प्याकेजिङ गरेर बिक्री गर्ने उद्योगहरूमा रूपमा १७ प्रतिशत दूध मात्र जान्छ । बाँकी दूध भने कृषक आफैँले खपत गर्छन् । करिव ५ लाखको, १८ सय सहकारीको संलग्नता र ३० अर्बको डेरी उद्योगको लगानी रहेको दूध क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशतको योगदान गरिरहेको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार नेपालको हकमा एक स्वस्थ मानिसले वर्षमा ९२ लिटर दूध खानुपर्ने तर नेपालकोे प्रतिवर्ष प्रतिव्यक्ति दुग्ध उपभोग ७२ लिटर मात्र छ । नेपालमा वार्षिक ४ प्रतिशतको दरले दूधको उत्पादन र ८ प्रतिशतको दरले माग बढिरहेको तथ्यांक छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०९:३१