पुनःश्रम स्वीकृति लिन श्रम कार्यालय धाउनु पर्ने बाध्यता हट्यो !

काठमाण्डौँ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब घरमै या विदेशमै बसेर पनि श्रमिकले अनलाइनमार्फत नै लिन सक्ने भएका छन् ।
अबको एक हप्ता भित्रमा श्रमिकले संसारको जुनसुकै कुनामा बसेर पनि अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
यो व्यवस्था लागू भएसँगै विदेशमा रहेका श्रमिक पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्कनुपर्ने बाध्यता हट्ने छ भने स्वदेश आएकाहरुले पनि पुनः श्रम स्वीकृति लिन श्रम कार्यालय धाउन नपर्ने भएको छ । पुनः श्रम स्वीकृति लिनका लागि बीमा र कल्याणकारी कोषमा रकम अनिवार्य जम्मा गर्नुपर्छ ।

विभागले यसअघि नै बीमा र कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनमार्फत नै गर्नसक्ने व्यवस्था गरिसकेको छ । यसअघि बीमा गर्न बीमा कम्पनीमा व्यक्ति स्वयम जानु पर्ने र कल्याणकारी कोषमा रकम जम्मा गर्न पनि बैंक नै जानुपर्ने व्यवस्था थियो । तर यो अवस्थालाई हटाउँदै अनलाइनमार्फत नै बीमा र कल्याणकारी कोषको रकम तिर्न सक्ने भएपछि अब पुनः श्रम स्वीकृतिका लागि पनि अनलाइनमार्फत नै आवेदन दिन सकिने भएको हो ।


प्रकाशित | २ पुष २०७७, बिहीबार १२:१२