‘हिमालयन ग्रेट ट्रेल’ निर्माणको अवधारणा अगाडि बढाउँदै हेलम्बु गाउँपालिका

दिनेश दुलाल /हेलम्बु

हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ग्रेट ट्रेलको अवधारणा ल्याएको छ । गाउँपालिकाको योजनामा पहिलोपटक ‘हिमालयन ग्रेट ट्रेल’ निर्माण सुरुवात गरेको छ । पर्यटकीय गुरु योजनाअन्तर्गत ठूलो योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ लाई अघि बढाएको हो  ।

६० किलोमिटर लामो ग्रेट ट्रेलभित्रको दस किमिको सुरुवाती चरणको सिँढी, बिसौनालगायत संरचना थालिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँका अनुसार हेलम्बुको बुद्ध पार्कबाट सुरु हुने पर्यटकीय ट्रेल शेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाक्षेत्र आमायांग्री क्षेत्रसँग जोडिने छ । त्यहीबाट ढुक्पु–भेमेथाङ अर्थात् गुरु रेन्पोछे तपस्यास्थल, पासाङसिरी–गुफुपोखरी–जलंसा,दवालाङ्गगुफा र सेमीसिदाङ्ग हिमाल क्षेत्रमा पुग्नेछ । उक्त गेट ट्रेल ठाडेपाटी–पाकेडाँडा हुँदै घोप्टेघ्याङमा पुगेर पर्यटकीय ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ सम्पन्न हुने हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले ५० लाख बराबरको ६० किमि छुट्याइएकोमा हाल १० किमिको डीपीआर सकेर धमाधम काम भएको हो । जसमा सिँढी, बाटो , बिसौना, पेटीलगायतको संरचना बनाइरहेको उहाँले बताउनुभयो । ‘प्याराग्लाइडिङ एरिया’ घोप्टेघ्याङबाट र अर्को बुद्ध पार्कबाट बृहत् योजनाअनुरूप ट्रेल निर्माणकार्य सुरु भइसकेको जानकारी गराउनुभयो ।

इन्जिनियरिङ डिजाइनसहित ५० जना कामदारबाट हेलम्बु ट्रेलको ढुंगा कुँदेर सिँढी, बिसौनाको प्रारम्भिक काम तीव्र रूपमा भइरहेको छ । हेलम्बु ट्रेलका सब इन्जिनियर शेरबहादुर राईका अनुसार ट्रेलमा सिमेन्ट थोरै र स्थानीय ढुंगा अत्यधिक प्रयोगमा ल्याइनेछ । ‘जसमा स्थानीय ढुंगा कुँदेर बन्ने ट्रेलमा हिँड्ने पदमार्गमा आकर्षक स्लेट ढुंगाको सिँढी बन्नेछ,’ उहाँले भन्नुभयो, । । चीनको विशाल ग्रेटवाल देखेर त्यसकै अनुसरण गरी डिजाइन गरिएको हेलम्बु ट्रेलको एक खण्डको संरचनामा दस वटा खुड्किला हुनेछन् ।

सिँढी पदमार्ग टुंगिएपछि प्लाटफर्ममा आएलगत्तै टाढा टाढाका सुन्दरतम दृश्य नियाल्न सकिने ‘भ्यु टावर’ राख्ने योजना बनाइएको छ । ‘रातमा पनि सही बाटो ट्रेल मार्गदर्शन गर्नका लागि सोलार प्यानल जस्ता अत्याधुनिक बत्ती जडान हुनेछ,’ उहाँले भन्नुभयो । हेलम्बु गाउँपालिकाको उक्त योजना सम्पन्न भएसंगै नेपालकै ग्रेट ट्रेल पहिलो अवधारणा हुने जानकारहरु बताउँछन् ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १६:३२