पाटनलाई ‘लाइभ म्युजियम’ बनाउँदैछौं: चिरीबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका

चिरीबाबु महर्जन

प्रमुख, ललितपुर महानगरपालिका

स्थानीय तहमा निर्वाचित भएको दुई वर्ष बित्दानबित्दै महानगरपालिभित्र गरिएका कामबाट आफू सन्तुष्ट भएको बताउने नगर प्रमुख चिरीबाबु महर्जन ललितपुरलाई एक उत्कृष्ट सांस्कृतिक सहर बनाउने अभियानमा जुटेका छन् । पाटन सहरलाई कहिल्यै नसुत्ने सहरको रूपमा विकसित गर्ने लक्ष्य राखेर अघि बढिरहेका नगर प्रमुख महर्जनसँग  महानगरका विकास कार्यक्रम, चुनौती र भावी योजनाबारे राजधानी दैनीकका लागि सविन शर्माले गर्नुभएको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौ ;-

तपाईंको दुई वर्षे कार्यकाल पूरा भएको छ । अब कसरी अगाडि बढ्ने सोच्नुभएको छ ?

हामी निर्वाचित भएको दुई वर्ष पूरा भएको छ । सुरुको वर्ष नभए पनि पछिल्लो वर्ष केही उदाहरणीय काम गरेका छौं । जनताका बीचमा जाहेर गरिएको प्रतिबद्धता दुईवटा काम गरी पूरा गर्न थालेका छौं । पहिलो, तत्काल गर्न सकिने विषयमा तत्कालै काम गर्दै लैजाने सोच अनुसार वृद्धभत्ता घरघरमा पु¥याउने काम सुरु गरेका छौं । दोस्रो, सफा र सुन्दर महानगर बनाउने कामका लागि हामीले फोहर कलेक्सनलाई प्राथमिकता दिएका छौं । पुल्चोकदेखि थापाथलीसम्मको सडकमा ‘फ्लाई ओभर’ बनाउन अध्ययन गरिरहेका छौं । मोनोरेलको विषयमा काठमाडौं महानगरसँग सहकार्य अघि बढाएका छौं ।

स्वच्छ र सफा ललितपुर महानगर बनाउने तपाईंको योजना कहाँ पुग्यो ?

ललितपुर महानगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने काम सुरु गरिसकेका छौं । स्थानीय तहले पाएको अधिकार र प्रदेश एवं संघसँग साझा अधिकारका विषयमा टुंगो लाग्न बाँकी छ । हाल भने सहजीकरण गरेर अघि बढ्ने सोचमा छौं । फोहोर व्यवस्थापनमा हामी आत्मनिर्भर छैनौं । हाल काठमाडौं महानगरपालिकासँगै ओखरपौवालाई प्रयोग गरिरहेका छौं तथापि विकल्पको खोजी भइरहेको छ । संघीय सरकारले कानुन बनाइसकेपछि तीव्रतामा काम गर्ने वातावरण बनेको छ ।

तपाईंको कल्पनाको समृद्ध महानगर कस्तो बन्ने छ ?

मेरो कल्पनाको महानगर पनि समृद्ध र सर्वसम्पन्न महानगर नै हो । शिक्षालाई १२ कक्षासम्म निःशुल्क बनाई त्यसको गुणस्तरमा विशेष ध्यान दिनेछौं । प्रि–क्लासलाई पनि निःशुल्क बनाउने अभियान सुरु गरिसकेका छौं । स्वास्थ्य क्षेत्रमा जनतालाई सरकारले निःशुल्क उपचार गर्ने रोगका विषयमा जानकारीसम्म छैन । त्यसको सहजीकरण गर्दै जनताको पहुँच पु¥याउने छौं । सबै वडामा स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यसम्बन्धी सेवा विस्तार गर्दै छौं ।

उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि के गरिरहनुभएको छ ?

सडक, खानेपानी र ढल व्यवस्थापनको काम भइरहेको छ । खनिएका सडकमा धुलो उडाउन नपाउने गरी काम गर्ने सम्झौता भएको छ । निर्माण कम्पनीले यसमा ध्यान दिएको देखिँदैन । महागरले त्यसको अनुगमन गरी सम्झौताअनुरूप भए÷नभएको अनुगमन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । हाल स्थानीय जनतालाई असर नगर्ने गरी काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा पनि उपत्यका प्रदूषणको मुख्य कारक सवारी साधनको प्रदूषण भएकाले त्यसको अनुगमन र नियन्त्रणका लागि केही कदम चालिएको छ । सरकारले २० वर्षभन्दा पुराना गाडीलाई हटाउनु पर्छ । महानगरले सम्बन्धित निकायसँग सहकार्यमा यो काम गरिरहेको छ । हरियो स्टिकर लगाउने र प्रदूषण गरिरहने लाइसेन्स सवारी साधनले पाएका छन् । स्टिकर लगाई कालो धुवाँ फालिरहेको सवारीसाधन देखे पनि कारबाही गर्न सकिएको अवस्था छैन । यसको अनुगमन गरी सडकमा परीक्षणसहित कारबाही गर्ने काम सुरु गरेका छौं । महानगरले छुट्टै कानुन बनाएर त्यसको कार्यान्वयन सुरु गरिसकेको छ ।

सार्वजनिक जग्गा र खुला स्थानको संरक्षण र व्यवस्थापनका लागि के गरिरहनुभएको छ ?

गएको शक्तिशाली भूकम्पका बेला खुला ठाउँ अभाव हुँदा सडकमा नै रात बिताउनुपरेको विडम्बना थियो । महानगरभित्र धेरै खुला स्थान थिए तर लगनखेल आर्मी ब्यारेक बनेपछि सर्वसाधरणको प्रवेश रोकियो । कुमारीपाटीको ठूलो पोखरी अहिले खुम्चिएर धेरै सानो भएको छ । यी कुरा भनेको हामीले हाम्रो भविष्यका सन्तानप्रति गरिएको खेलबाड हो । यही भएर सार्वजनिक जग्गा र खुला स्थानलाई अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नदिइने नीति लिइएको छ ।

यहाँको पर्यटकीय सम्भावना केके छन् ?

ललितपुर महानगरपालि यथेष्ट पर्यटकीय सम्भावना बोकेको स्थान हो । यहाँ मूर्त तथा अमूर्त सम्पदा छन् । मूर्त सम्पदा भूकम्पले बिग्रियो, त्यसको पुनर्निर्माण गरिँदै छ । पहिलेको नै अवस्थामा निर्माण गर्नुपर्ने भएकाले केही लामो समय लागेको हो ।
पाटनको पुरै क्षेत्र अमूर्त सम्पदाको खानी हो । हामीले यसलाई ‘ओपन म्युजियम’ पनि भनेका छौं । स्थानीय नाँचगान, जात्रा, पर्व, भोजभतेर तथा वेशभूषालाई संरक्षण गरेर राख्नु आवश्यक छ । पर्यटकका लागि यो पनि आकर्षणको केन्द्र बन्दछ । बाग्मती सभ्यातासँग जोडेर ‘लाइभ म्युजियम’को विकास गर्ने काम सुरु गरेका छौं । महानगरले सबैको साथ सहयोगको अपेक्षा गरेको छ ।

हरित सहर बनाउने योजना कहाँ पुग्यो ?

हरित महानगर निर्माण गर्ने योजनामा हामी लागिरहेका छौं । रोपिएका बिरुवाको संरक्षण नगर्ने बानी भएकाले हामीले ६ फिटभन्दा होचो बिरुवा रोप्न प्रतिबन्ध नै लगाएका छौं । बस सेवाका कारण रोपिएका बिरुवा हुर्काउन सहज भएको छ । रोपिएका बिरुवा नहुर्केसम्म रेखदेख गर्ने व्यवस्था पनि मिलाएका छौं । हरेक घरले दुईवटा बिरुवा रोप्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।
बिरुवा रोपेपछि हुर्काएर ठूलो बनाउने जिम्मा पनि रोप्ने व्यक्तिको हुने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ । नदीका छेउछाउँमा रूख रोपेर हरियाली कायम गरिँदै छ । साथै, खुला स्थानमा पनि वृक्षारोपण गरेर हरियाली पार्कको रूपमा विकास गरिँदै छ ।

सांस्कृतिक सम्पदाको संरक्षणमा कस्तो भूमिका रहन्छ ?

राजनीतिक स्थायित्वले आर्थिक वृद्धि हुन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । ललितपुर महानगरभित्रका सांस्कृतिक सम्पदाको संरक्षणले पर्यटकलाई आकर्षण गर्छ । खोकना, बुंगमती, हरिसिद्धि पाटन दरबार क्षेत्रलगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आए पनि उनीहरू बढीमा दुई घण्टा बिताउँछन् । उनीहरू फर्किएर काठमाडौं नै जाने गरेका छन् ।

हामीले पर्यटकलाई लामो समयसम्म राख्न सकेका छैनांै । पर्यटकको बसाइको अवधि बढाउन हामीले रात्रि जीवनको विकास गर्नुपर्दछ । पाटन दरबार क्षेत्रमा राति केही हेर्न सकिने अवस्था छैन । दिउँसोको भन्दा रातिको समयमा अझ रोमाञ्चक हुने गरी प्रकाशको व्यवस्था गर्न लागेका छौं । यसले पाटन दिउँसोभन्दा पनि राति रमाइलो हुन्छ भन्ने सन्देश दिनेछ । पर्यटकलाई पाटनमा व्यस्त राख्ने योजना निर्माण गरेका छौं ।

पर्यटक रातको सययमा आउँदा बस्न योग्य बनाउन हामीले होम स्टे, रात्रिकालीन जीवन, सांस्कृतिक सम्पदाको संरक्षणको काम थालनी गरेका छौं । ‘लन्डन सिटी नेभर स्लिप अ डे’ भन्ने गरिएको छ । हामीले पनि यहाँ ‘पाटन सिटी डजन्ट स्लिप’ भन्ने गरी काम अघि बढाएका छौं । सबै मिलेर सम्पदाको संरक्षण गर्नुका साथै पर्यटक आउँदा खाने र बस्ने व्यवस्था हुनेछ ।

कसरी पर्यटक आकर्षित हुन्छन् ?

पर्यटकका लागि पाटनमा गुणस्तरीय बासस्थान तथा होम स्टे बनाउन महानगरले सहयोग गरिरहेको छ । हाल आधुनिक र आकर्षक रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । पाटनको मंगलबजार क्षेत्रमा पनि सांस्कृतिक मूर्त सम्पदाको संरक्षण गर्न सुरु गरिएको छ । हामीले केही नभए पनि दुई÷तीन दिन बस्ने वातवरण बनाउँदै छौं ।

प्रविधिको विकास र प्रयोगमा कस्तो भूमिका हुन्छ ?

हामीले नवीन प्रविधिको प्रयोग गर्नुपर्दछ । महानगरलाई प्रविधियुक्त महानगर बनाउँदै छौं । ‘पेपर लेस अफिस’को अवधारणा कार्यान्वयनमा ल्याएका छौं । सबै निर्णयलाई डिजिटलाइज्ड गरिरहेका छौं । सबै वडामा जनताले इन्टनेटको माध्यमबाट सेवा लिने र सेवा दिने कामको सुरु गरेका छन् ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १५:१३