डडेल्धुराका अधिकांश वनमा आगलागी

डडेल्धुरा : अत्यधिक गर्मी बढेसँगै जिल्लाका अधिकांश वनका जङ्गलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीका अनुसार स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको छ । सहायक वन अधिकृत जोशीले चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले जानीजानी आगो लगाइदिँदा वनमा डडेलो बढेको बताउनुभयो । जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा कूल भूभागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ११:१०