प्रधानमन्त्री ओलीले सपथ ग्रहणमा बोलेको शब्दावलीविरुद्ध सर्वोच्चमा चारवटा रिट

काठमाडौँ । प्रधानमन्त्री के.पी शर्मा ओलीले सपथ ग्रहणमा बोलेका चारवटा शब्दावलीविरुद्ध सर्वोच्चमा चारवटा रिट परेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले लिनु भएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट परेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गरिएको छ ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएको सर्वोच्चले जानकारी दिएको छ । उक्त रिटको पेशी भोलिलाई तोकिएको छ । रिटमा कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांंसदलाई दोहो¥याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्ने उल्लेख छ ।

त्यसबाहेक प्रधानमन्त्रीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ ।यस्तै प्रधानमन्त्रीको शपथ र त्यसपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गर्नु भएको छ । प्रधानमन्त्री ओलीले शपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहो¥याउनु भएको थियो । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाउनु भएको थियो ।


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार १५:४९