गैर आवासीय नेपाली संघमा कांग्रेसले आधिकारिक उम्मेदवार नतोक्ने

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताउनु भएको छ । आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफै मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताउनु भयो ।

गैर आवासीय नेपाली संघकी उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रविना थापा सहितका अरू उम्मेदवार र सदस्यहरूसँग काठमाडौँमा भएको छलफलमा सिटौलाले पार्टीका निर्वाचित सभापति, उपसभापति, वरिष्ठ नेतालाई भेटेर आफ्नो संस्थाभित्रको उम्मेदवार आफै तोक्छौ भन्न सुझाव दिनु भयो ।

‘तपाईहरू हाम्रो शुभेच्छुक संस्था पनि होइन, भातृ संस्था पनि होइन’ सिटौलाले भन्नु भयो, ‘नेताहरूको आ-आफ्नै इन्ट्रेस्ट हुनसक्छ। त्यसलाई संस्थाभित्र प्रवेश गराउनु हुँदैन। संस्थालाई स्वतन्त्र राख्नुपर्छ।’

गैर आवासीय नेपाली संघकी वर्तमान उपाध्यक्ष रविना थापाले एनआरएनएलाई स्वतन्त्र संस्थाका रूपमा चल्न दिनुपर्ने बताउनु भयो । अध्यक्षकी उम्मेदवार थापाले राजनीतिक हस्तक्षेप हुन नदिन आफूहरू लागिरहेको पनि बताउनु भयो ।

कार्यक्रममा कांग्रेस नेताहरु प्रदीप पौडेल, रामहरि खतिवडा, एनआरएनएमा उपाध्यक्षका उम्मेदवार गणेश केसी, युवा उपाध्यक्ष पदका उम्मेदवार रोशन थापा र राज रेग्मी, महासचिवका उम्मेदवार विनय अधिकारी, सचिव पदका उम्मेदवार प्रवीण गुरुगं, कोषाध्यक्षका उम्मेदवार राजन त्रिपाठी र सहकोषाध्यक्षका उम्मेदवार नारायण सुवेदी, एनआरएनए यूकेका अध्यक्ष योगेन क्षेत्री, एनआरएनए क्यानडाका चियर पर्सन सम्राट थापा, एनआरएनए जर्मनीका उपाध्यक्ष लोकमणी ढकाल, जनसम्पर्क समिति यूरोपका दिल गुरुगं, जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुगलगायत कांग्रेस सँग सम्बन्धीत जनसम्पर्क समितिका नेताहरुको सहभागिता रहेको थियो ।


प्रकाशित | ४ पुष २०७८, आईतवार ०८:१८