पैसा छोएपछि अनीवार्य हात धुन विज्ञको सुझाव

काठमाण्डौ : कोरोनाले विश्वब्यापी महामारी फैलिरहेको वर्तमान अवस्थामा अधिकाश मानीसहरु लकडाउनमा छन् । कोरोनाबाट बच्न आवश्यक सुरक्षा अपनाउँदै घरभित्रै बसिरहँदा विज्ञहरुले पैसाको माध्यमबाट पनि कोरोना सर्न सक्ने भन्दै पैसा छोएपछि हात धुन सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरुवार रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोला कोरोना भाइरस पैसाबाट सरेको प्रमाणित तथ्य नभए पनि यसअघिका भाइरसको व्यवहारलाई हेर्दा कोरोना भाइरस पनि सर्न सक्ने बताउनुहुन्छ ।

पैसामा भाइरस बाँच्न सक्ने वातावारण हुने भएकोले यदि सङ्क्रमित व्यक्तिबाट नोटमा भाइरस पुग्यो र केही समयमा अर्को व्यक्तिले त्यो नोट समातेर हात नधोइ नाक, मुख वा आँखा छोएमा भाइरस त्यो व्यक्तिको शरीरमा प्रवेश गर्न सक्ने भएकोले पैसा समातेपछि साबुन पानीले राम्रोसँग हात धुनु उपयुक्त हुने डाक्टर बाँस्तोला सुझाव दिनुहुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले नोट वा सिक्काबाट पनि कोरोना भाइरस सर्छ भन्ने चेतावनी दिएपछि चीनमा ठूलो परिमाणमा नोटहरु समेत नष्ट गरिएको थियो । सबै किसिमका मान्छेका हातमा पुग्ने नोटमा भाइरस बाँच्ने वातावारण पनि हुन्छ भन्ने कुरा यसअघिका अनुसन्धानहरुले पनि देखाएका छन् ।


प्रकाशित | २५ बैशाख २०७७, बिहीबार १९:४९