एनआरएन अमेरिका निर्वाचनमा बोर्ड अफ डाइरेक्टर उम्मेद्वार छत्र गुरुङको यस्ता छन् चुनावी प्रतिबद्धता

अमेरिका: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ तारिकमा हुन गइरहेको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दर्ता गर्नुभएकी छत्र गुरुङलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । काम गर्ने अवसर पाए अमेरिकामा रहेका सवै नेपालीको आफ्नो संस्था बनाउन दृढ योजनासहित अघि बढने प्रतिवद्धता उहाँको छ ।

चुनावी कार्यक्रम नजिकिदै जाँदा आफूलाई मत माग्ने क्रममा रहनुभएकी गुरुङले आफूले ३० बर्ष सामाजिक संघ, संस्थामा गरेको कामको अनुभवलाई सदुपयोग गर्दै अमेरिकामा रहेका सवै नेपालीमाझ एनआरएनए पुर्याउने अठोट गर्नुभएको हो । ‘एनआरएनए अमेरिकालाई सवैको आफ्नै संस्थाको रुपमा स्थापित गर्न धेरै काम गर्नुपर्छ, यस्को लागि मलाई बिश्वास गरेर मतदान गरी जिताउनु भयो भने म पुर्णरुपमा त्यो काममा लाग्नेछु, एक पटक बिश्वास गर्नेमाथि कहिल्यै धोका हुनेछैन,’ गुरुङले भन्नुभयो ।

उहाँले नेपालदेखि अमेरिकासम्म सामाजिक क्षेत्रमा काम गरेको थुप्रै अनुभव संगाल्नुभएको छ । नेपालदेखि अमेरिकासम्म महिला अधिकारकर्मी र कानून ब्यवसायीका रुपमा स्थापित हुनुभएकी गुरुङले सवै मित्रहरुको दवावपछि एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनुभएको थियो । नेपालमा मानव अधिकार तथा कानुनी क्षेत्रमा लामो समय काम गरिसक्नुभएकी गुरुङले गैरआवासीय संघ एनआरएनलाई सवल, सक्षम र समावेशी बनाएर लैजानको लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

विगत ११ बर्षदेखि अमेरिकाको न्यू हृयाम्सायरमा बस्दै आउनु भएकी गुरुङले न्यूहृयाम्सायर नेपाली कम्युनिटी, आइएनएलएस न्यूहृयाम्सायर च्याप्टर, एभरेष्ट लायन्स क्लब न्युहृयाम्प्सायर च्याप्टर, गुरुङ समाजलगायत विभिन्न सामुदायिक संस्थाको विभिन्न पदमा रहेर काम गरिसक्नु भएको छ । नेपालमा लामो समय कानुन व्यवसायमा संलग्न गुरुङ अन्तरिम संविधान २०६३ का मस्यौदाकार समेत हुनुहुन्छ । आदिवासी जनजाति महिला कानुनी सचेतना समूहका संस्थापक अध्यक्ष तथा कानुनी सहयोग तथा परामर्श केन्द्रको उपाध्यक्षको रुपमा समेत काम गरिसक्नुभएकी गुरुङसँग महिला अधिकार तथा सामाजिक क्षेत्रमा ३० बर्षभन्दा लामो समय काम गरिसकेको अनुभव छ ।

सर्वोच्च अदालतमा समेत कानुन व्यवसायीको रुपमा काम गर्नुभएकी गुरुङ कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको निर्वाचित केन्द्रीय सदस्यसमेत हुनुभएको थियो । सामाजिक न्याय, सक्षम र सवल र समावेशी नेतृत्वको लागि महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने मान्यतामा सदैव उहाँ दृढ हुनुहुन्छ । ‘सामाजिक न्याय, सक्षम र सवल र समावेशी नेतृत्वको लागि महिला सहभागितालाई प्राथमिकता दिनुपर्छ,’ गुरुङले भन्नुभयो ।

उहाँले काम गर्न र अमेरिकामा रहेका सवैको समस्यामा एनआरएनए भन्ने कुरा स्थापित गर्ने कामका लागि आफू एनआरएनएको निर्वाचनमा बिजयी हुन चाहेको बताउनुभयो । ‘सवैको समस्यामा एनआरएनए अमेरिका भन्ने मान्यता स्थापित गर्नका लागि एनआरएनए एनसीसी युएसएको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिएकी हुँ, मलाई विश्वाश छ म मेरो कार्यक्षमता र अनुभवको आधारमा एनआरएनए एनसीसी युएसएलाई सबल, सक्षम र समावेसी बनाउनको लागि केही योगदान दिनसक्छु । तसर्थ सबै मित्रहरुले मलाई एक पटक काम गर्ने अवसर दिनु हुन्छ भन्ने आशा र विश्वाश लिएको छु,’ गुरुङले भन्नुभयो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार २२:१५