कटुञ्जे । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे अध्ययन गर्न सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले स्थलगत अवलोकन गर्नु भएको छ । लगातार तीन दिनसम्म परेको वर्षाका कारण आएको बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था बारे जानकारी लिन सोमबार १० वटै वडाको स्थलगत अनुगमन गरिएको हो ।
नगरप्रमुख बासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, १० वटै वडाका वडाध्यक्षहरु र प्राविधिकको टोलीले अवलोकन गरेको हो । लगातार तीन दिनसम्म भएको वर्षा पछि आएको पहिरोमा परि नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुर्याएको छ । बाढी पहिरो पीडितलाई राहत तथा पुर्नस्थापनाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र माथिल्लो निकायसँग पनि समन्वय तथा पहल गर्ने नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले बताउनु भयो ।
नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीले पहिरोको कारण अवरुद्ध सकड स्काभेटर प्रयोग गरि खुलाउने काम भईरहेको जानकारी दिनु भयो ।
बाढी पहिरोले विभिन्न वडामा पुर्याएको क्षतीको विवरण समेत संकलन भइरहेको संयोजक खत्रीले बताउनुभयो । क्षतिको यकीन विवरण आइसकेपछि आवश्यक निर्णय गरिने नगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीमा वडा नंंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का कार्यवाहक वडाध्यक्ष मनोज थापा, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम रावत,पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने सहित कर्मचारीहरु सहभागि हुनुहुन्थ्यो ।
प्रकाशित | १४ आश्विन २०८१, सोमबार १९:०९