कागेश्वरी मनोहराका विद्यालयमा अनिवार्य पठनपाठन गर्ने गरि ‘जनचेतनामुलक पाठ्यसामाग्री’ वितरण, अपराधिक क्रियाकलप न्यूनीकरणमा सहयोग पुग्ने विश्वास

काँडाघारी: कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सञ्चालीत विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामुलक पाठ्यसामाग्री वितरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सहकार्यमा नगरपालिकाले बुधबार गान्धी आदर्श माध्यमीक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पुस्तक हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिकाको साझेदारीमा तयार पारिएको जनचेतनामूलक पाठ्यसामाग्री काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई अनिवार्य पठन पाठन गर्ने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण गरिएको हो ।

पाठ्यपुस्तकमा अपराध, लागु औषध दुब्र्यसन, धुम्रपान र मध्यपान, साइबर अपराध, महिला तथा बालबालिकामा हुने अपराधहरु, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी सम्बन्धि व्यवस्था, करणी सम्बन्धी कसुर, लैंगिक तथा यौनिक अल्पसंख्यक, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामुलक कार्यक्रमहरु रहेको छ ।

त्यस्तै, जुवातास तथा सट्टाबाजी, चोरी र चोरीबाट बच्ने उपायहरु, ट्राफिक सचेतना, विपद् जोखिम र न्यूनीकरणका उपायहरु, आत्महत्या, घटनास्थल सुरक्षा, आपराधिक अभिलेख प्रणाली, प्रहरी चारित्रिक प्रमाणपत्र, आत्मरक्षा, तनाब ब्यबस्थापन, घटना रोकथामका उपायहरु, असल नागरिकका दाहित्व र जिम्मेवारी काठमाडौं जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यमहरु लगायतका विषयबस्तुहरु समेटिएका छन् ।

एआइजी बज्राचार्यले पाठ्यसामाग्रीले विद्यालय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने र समाजमा अपराधिक त्रियाकलप तथा गलत कार्य रोकथाममा सहयोगी बन्ने बताउनुभयो ।

नगर प्रमुख कार्कीले हरेक देशको नागरिकले कानुन जान्नैपर्ने विषय भएकाले विद्यालयत स्तरमै विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले पाठ्यसामाग्री तयार गरि सबै विद्यालयमा लागू गरिन लागिएको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरे, गान्धी आदर्श माविका प्रधानाध्यापक गणेश चन्द र नगरपालिका शिक्षा शाखा प्रमुख पुष्पराज ढकाललगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा गान्धी आदर्श माध्यामीक विद्यालयका ब्यवस्थापन समितिका संयोजक तथा विद्यार्थी सचेतनामूलक पाठ्यसामाग्री निर्माण संयोजक गया प्रसाद उपाध्याय, जिल्ला प्रहरी परिसर काठमाठौंका नवराज अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालय सामुदायिक शाखामा कार्यरत प्रहरी उपरीक्षक सन्तोष आचार्य, महानगरीय प्रहरी वृत्त कोटेश्वरका प्रहरी नायव निरीक्षक शिवराज बुढाथोकी, प्रहरी वृत्त बौद्धका प्रहरी नायव निरीषक राजु पाण्डे, प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक श्याम कुमार कटुवाललगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।


प्रकाशित | १३ आश्विन २०८१, आईतवार १५:१२