एनआरएन डेभलपमेन्ट फण्डमार्फत छिट्टै आइपीओ जारी हुने

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएन डेभलपमेन्ट फण्डमार्फत छिट्टै आइपीओ जारी हुने बताउनु भएको छ ।

विदेशमा रहेका साना लगानीकर्ताहलाई पनि लगानीको अवसर प्रदान गर्ने गरि छिट्टै आइपीओ जारी गरिने अध्यक्ष पन्तले बताउनु भएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँग एनआरएनए टोलीले गरेको भेटमा अध्यक्ष पन्तले सो कुरा बताउनु भएको हो ।

पन्तले नेपालमा एनआरएन डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्बको लगानीका लागि सहज वातावरण निर्माणका लागि नेपाल सरकारले सहजिकरण गरिदिन आग्रह पनि गर्नुभयो ।

उहाँले गैर आवासीय नेपाली संघले नेपाल सरकारसँगको सहकार्यमा हालसम्म भएका कामका बारेमा स्मरण गराउँदै आगामी दिनमा पनि सोही किसिमको सहकार्यको अपेक्षा राखेको बताउनुभयो ।  लगानीका लागि केही नीतिगत व्यवस्था आवश्यक भएकोले त्यसतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष पन्तले आगामी अक्टोबरमा आयोजना गर्न लागिएको संघको १० औं महाधिवेशनबारे जानकारी दिँदै त्यसका लागि सरकारको तर्फबाट पनि उच्च स्तरीय आयोजक समिति गठन गर्न अनुरोध गर्नुभयो ।

गैर आवासीय नेपाली नागरिकता र ऐन २०६४ को संशोधनको कार्यान्वयन सम्बन्धमा पनि अध्यक्ष पन्तले सचिव पौड्यालको धयानाकर्षण गराउनुभयो ।

भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल सरकारले विदेशमा रहेका नेपालीको लगानीलाई विशेष प्राथमिकता दिएर भित्र्याउनुपर्नेमा सचिव पौडेलमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै लामो समयदेखि गैर आवासीय नेपाली नागरिकताको विषय विचाराधीन अवस्थामा रहेकोले त्यसको कार्यान्वयनका लागि बारम्बार ध्यानाकर्षण गराएपनि माग सम्बोधनमा भइरहेको ढिलाईबारे जानकारी गराउनुभयो ।

परराष्ट्र मन्त्रालय नै फोकल मन्त्रालय भएकोले सहकार्य र समन्वय अपरिहार्य रहेको उहाँले बताउनुभयो । गैर आवासीय नेपाली ऐन २०६४ मा गैरआवासीय नेपालीका लगानी सम्बन्धि व्यवस्था गरिएको तर त्यसमा केही संशोधन आवश्यक भएकोले त्यसको लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिदिन आग्रह गर्नुभयो ।

त्यस्तै सो अवसरमा संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएन फण्डले सबै गैर आवासीय नेपालीहरुलाई लगानी गर्ने अवसर प्रदान गर्न सक्ने गरि स्थापना गरिने र यस फण्डले भविष्यमा ठूलो आकार लिने भएकाले सरकारले यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

यस्तै एनआरएन डेभलेप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले हालसम्मको प्रगतिबारे जानकारी गराउँदै फण्ड परिचालन गर्न सहयोग गर्ने केही नीतिगत निर्णय गर्नपर्ने सुझाव व्यक्त गर्नुभयो ।

सो अवसरमा सचिव पौडेलले गैर आवासीय नेपाली संघ समग्र आवासीय र गैर आवासीय नेपालीहरुका प्रेरणाको स्रोत हुनपर्ने र यसले मातृभूमिको हकहितको लागि ठूलो योगदान पुर्याउन सक्ने उल्लेख गर्नुभयो ।

यसलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउन पर्ने सुझाव दिँदै उहाँले सरकारले गर्नसक्ने सबै खाले सहयोगका लागि तयार रहेको बताउनुभयो ।

त्यस्तैगरि, आसन्न १० औं महाधिवेशन सफल पार्न मन्त्रालयले विगतमा जस्तै सहयोग गर्ने र त्यसका लागि उच्च स्तरीय आयोजक समिति गठन गर्ने जानकारी दिनुभयो ।


प्रकाशित | २९ श्रावण २०७८, शुक्रबार २३:१६