कागेश्वरी मनोहरा नगरपालिकाले १५ वटा पूर्वाधार निर्माण गर्न बहुवर्षीय ठेक्का लगाउने

काठमाडौं:  कागेश्वरी मनोहरा नगरसभाको नवौ अधिवेशनले अर्धवार्षिक प्रगतिको समिक्षा गरेको छ । नगर अधिवेशनले अर्थवार्षिक प्रगति समिक्षासँगै विभिन्न सार्वजनीक महत्वका प्रस्तावका विषयमा छलफल गरेको हो ।

नगरससभाले विभिन्न कार्याविधि निर्माण समेत गरेको छ भने चालु खर्च घटाएर पूँजीगत रकमान्तर गर्ने, चालु आर्थिक वर्षका विभिन्न रकम सोधान्तर गराउने, बहुवर्षीय ठेक्का लगाउँदै १५ वटा पूर्वाधार निर्माण गर्ने र कर संकलन अभियानलाई निरन्तरता दिर्दै राजस्वका दायरा फराकिलो बनाउने लगायतका प्रस्ताव पारित गरेको छ ।

नगरसभामा सदस्यहरुले नगरपालिकाले प्राथमिकता तोकेका पाँच वटा विषयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ जनप्रतिनिधि आएपछि नगरपालिकालाई स्वच्छ, सफा र हराबरा बनाउने, शिक्षा र स्वस्थ्य क्षेत्रमा अग्रणी र अब्बल बनाउने, खेलकुदको विकास गर्ने, बालमैत्री र संस्कारसहितको गुणस्तरिय शिक्षाको प्रत्याभूति दिलाउने र खानेपानीको वन्दोवस्त गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेयर उपेन्द्र कार्कीले जनप्रतिनिधिबीचको एकतालाई कायम राखेर विगतमा भएका राम्रा कामलाई आत्मसाथ गर्दै भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढिरहेको बताउनुभयो । नगरको विकास र समृद्धिको सपनालाई साकार बनाउन स्थानीय आवश्यकतालाई सम्बोधन गर्नका लागि स्रोत र साधनको भरमग्दूर उपयोग गर्न आवश्यक रहेकोमा पनि उहाँको जोड छ ।


जनप्रतिनिधिहरुले नगरबासीको हितमा काम गरेर विश्वास दिलाउन सफल भएको र विश्वास प्रगाढ हुँदै गइरहेको भन्दै यसलाई अझै बढाउँदै लग्नुपर्ने र राज्य आर्थिक संकुचनबाट गुज्रीरहँदा नगरपालिका पनि अछुतो नरहेको भन्दै आन्तरिक राजस्वको क्षमतालाई बढाउनुपर्ने धारण राख्नु भएको थियो ।

नगर उपपमुख शान्ता थापाले सबै नगर सभा सदस्यहरुबीच हातेमालो गरेर नगरपालिका समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभएको थियो । नगर सभामा वडा नंं १ का वडाध्यक्ष मुकुन्द गजुरेल, २ का वडाध्यक्ष सुरज खडका , ३ का वडाध्यक्ष राममणी पुडासैनी, ४ का वडाध्यक्ष विजय श्रेष्ठ, ५ का वडाध्यक्ष शंकर पाण्डे, ६ का वडाध्यक्ष प्रकाश फुयाँल, ७ का वडाध्यक्ष भिमसेन थापा, ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र ९ का वडाध्यक्ष अनील थापाले वडाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । साथै नगर सभा सदस्यहरुले सार्वजनीक महत्वका विषयमा धारणा राख्नु भएको थियो ।

नगरसभामा प्रमुख प्रसाशकीय अधिकृत तथा नगर सभा सदस्य सचिव सागर मिश्र र विभिन्न शाखाका प्रमुखहरुको पनि सहभागिता थियो ।

      


प्रकाशित | ३ माघ २०८०, बुधबार २२:५४