एनआरएनए ओसेनीया सम्मेलन: पहिलो दिन विभिन्न सेसन सञ्चालन, लगानी सेसनले पायो प्राथमिकता

सिड्नी:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । पहिलोे दिन विभिन्न सेसन सञ्चालन भएका छन् ।  विशेष गरि एनआरएनको तर्फबाट नेपालमा गर्न लागिरहेको लगानी सम्बन्धी विषयले प्राथकिता पाएको छ । सम्मेलनमा विशेष गरि गैर आवासीय नेपालीले  गर्न लागिरहेको संयुक्त लगानीको विषयले प्राथमिकता पाएको हो । गत चैत दोस्रो साता लगानी सम्मेलनमा नेपाल सरकारसँग हस्ताक्षरित सम्झौता अनुसार नेपालमा गैर आवासीय नेपालीले के कसरी लगानी गर्न सक्छन ? यसका अधार के के हुन ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएको हो ।

लगानी कार्यदलका संयोजक कुमार पन्तले लगानीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो । एनआरएन लगानी कार्यदलका संयोजक तथा एनआरएनए उपाध्यक्ष पन्तले कार्यपत्रमा १० अर्ब लगानीको आधार, यसको मेकानिजम, प्रतिफलको ग्यारेण्टीलगायतका विषय समेट्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लगानी सम्मेलनका क्रममा एनआरएनले सरकारसँग नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी समझदारी गरिसकेको छ ।

त्यस्तै, एनआरएनए महासचिव बद्री केसीले हाइडो प्रोजेक्टको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एनआरएनए प्रवक्ता भूषण घिमिरेले ‘विद्यार्थी भर्ना अभियानमा एनआरएन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तैगरि सम्मेलनमा महिला फोरमको प्रतिवेदन, विभिन्न विज्ञहरुका कार्यपत्र, विभिन्न एनसिसी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

भोली सम्म चल्ने सम्मेलनमा विश्वभरिका एनआरएनएको सहभागिता रहेको छ । सम्मेलन एनआरएनए ओसेनीया क्षेत्रको भनीको भए पनि जापान, हंगकंगं, बेलायत, जर्मनी, अमेरिकालगायतका गरि तीन सय भन्दा बढीको सहभागि रहेको एनआरएनए प्रवक्ता भूषण घिमिरेले विश्व सन्देशलाई जानकारी दिनुभयो । प्रवक्ता घिमिरेका अनुसार भोली सम्मेलनको निचोडसहित विभिन्न विषय समेटीएको घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गरिने कार्यक्रम छ ।

त्यसअघि कार्यक्रम नेपाल सरकारका तर्फबाट सहभागि कानुनमन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान पनि सहभागि हुनुभयो । त्यस्तै, सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, एनआरएन पूर्व अध्यक्ष शेष घले, सल्लाहकार जमुना गुरुगं, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुनुभयो ।

त्यस्तैगरि,  अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, , एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायत सहभागि हुनुहुन्छ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १८:०६