एनआरएनए अध्यक्षमा महेश कुमार श्रेष्ठको उम्मदेवारी दर्ता, संघलाई एकताबद्ध बनाएर लैजाने उदघोष

काठमाडौं:  गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएका् छ । हाल कार्यसमितिमा उपाध्यक्ष रहनु भएको श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो ।

उम्मेदवारी दर्तापछि उहाँले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हाबी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ ।’

अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दिपक रेग्मी रहनु भएको छ भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल हुनुहुन्छ ।

एनआरएनए रुपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिनु भएको श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाउँदै आउनु भएको छ ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार १४:५८