आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन निर्देशन दिनु भएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले झन्झटिला प्रक्रिया छोट्याएर कानून मिलाएर, प्रक्रिया मिलाएर भए पनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको बताउनुभयो । बैठकले महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल जारी गर्ने विकल्पबारे छलफल भए पनि अहिलेका लागि कानून संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको उहाँले बताउनुभयो ।

उहाँले तत्काल देखिएको अक्सिजन आपुर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमाण्ड चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जाकारी दिनुभयो । उहाँले लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरहरुको प्रबन्ध गरिने बताउनुभयो ।

उद्योगीहरुले सबै सिलिण्डर स्वास्थ्य निकायलाई बुझाएकाले विस्तारै सिलिण्डर अभावको समस्यामा कमि आउदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिण्डर भित्रिएपछि सिलिण्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार १६:३६