काठमाडौँमा एनआरएनए महाधिवेशनको चहलपहल बढ्यो, ठूलो संख्यामा डेलिगेट्सहरु उत्रने क्रम जारी

काठमाडौं : यही असोज ३० गतेदेखि हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरु नेपाल आउनेक्रम शुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ ।

नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रविना थापा, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्मा बीच प्रतिस्पर्धा हुँदैछ । तर डा.केसी र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महाधिशनका लागि निर्वाचन समितिले ४ हजार १९२ जनाको प्राराम्भिक मतदाता नामावली प्रकाशित गरिसकेको छ । यस पटक भौतिक र अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था भएपनि ठूलो संख्यामा डेलिगेट्सहरु काठमाडौं उत्रने क्रम जारी छ । ठमेल, दरबारमार्ग, बालुवाटारलगायतका क्षेत्रमा उम्मेदवार तथा डेलिगेट्सहरुको बाक्लो उपस्थिति देखिएको छ ।

विभिन्न देशको भ्रमण सकेर अध्यक्ष लगायत अन्य पदका प्रत्यासीहरुले काठमाडौमा चुनावी अभियानलाई तीब्रता दिएका छन् । ९ बुँदे प्रतिवद्धतासहित डा. केसीले २०२३–०२५ कार्यकालका लागि अध्यक्षमा दाबी प्रस्तुत गर्नु भएको छ भने मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका उपाध्यक्ष श्रेष्ठले पाँच बुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई अघि बढाउनु भएको छ ।

उता १० औं महाधिवेशनबाट पूर्वअध्यक्ष शेष घले समर्थित ठूलो समूह असन्तुष्ट भएपछि बिनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबीच सहमति भएको थियो। तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा नआएपछि एकताको महाधिवेशन हुने सम्भावाना निकै कमजोर भएको बताइन्छ ।

यद्यपि , अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले कोरिया भ्रमणका क्रममा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरसँग भेटेर एकताका लागि अनौपचारिक सहमति गर्नु भएको थियो । श्रेष्ठ र कुँवरबीच भएको आन्तरिक छलफलमा तीन महिनाभित्र एकता गर्ने सहमति जुटेको थियो । कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्ने क्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।


प्रकाशित | २५ आश्विन २०८०, बिहीबार २२:३४