स्मार्ट सिटीको विषयमा तत्काल निकास दिन सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा सरोकारवाला निकायको ध्यानार्कषण

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले स्मार्ट सिटीको विषयमा तत्काल निकास दिन सरोकारवाला निकायको ध्यानार्कषणा गराउनु भएको छ । स्मार्ट सिटीको नाममा रोक्का जग्गाको विषयमा तत्काल निकास दिन सरोकारावाला निकायहरुको ध्यानर्कषण गराउनु भएको हो ।

नगर प्रमुख थापाले स्मार्ट सिटीको नाममा वर्षौसम्म जनताको जग्गा रोक्का राख्नु उचित नभएको भन्दै अब कि रोक्का जग्गा फुकुवा गर्न कि तत्काल नयाँ शहर बन्ने आधार दिन आग्रह गर्नु भयो ।

शहरी विकास मन्त्री सीता गुरुङसँगको भेटघाटमा उपत्यका मेयर्स फारेमका उपाध्यक्ष समेत रहनु भएको थापाले सरकारले एक पैसा लगानी नगरी सबै जनताबाटै उठाएर स्मार्ट सिटी बन्न नसक्ने बताउनुभयो । स्मार्ट सिटी अबको २० वर्षसम्म पनि बन्न नसक्ने बताउँदै तत्कालीन अवस्थामा नयाँ शहर बनाउन शूरु गरेको भए सम्भव भए पनि अब सम्भव नभएको उहाँको भनाई छ ।

तीब्र शहरीकरणले बनेका घर टहरा भत्काउनु निकै जटिल हुने भन्दै यो काम सफल पनि नहुने र जनता मर्कामा पनि परिरहने अवस्थाको अन्त्य गर्न यसको निकास तत्काल निकाल्नुपर्ने उहाँले जोड दिनुभयो । ‘लामो समयसम्म जनताको जग्गा रोक्का गर्दा तीब्र असन्तुष्टी छ । अब कुनै पनि बहानाबाजी गरेर जनतालाई रोक्न सक्ने अवस्था छैन । तत्काल वैकिल्पिक बाटो खुल्ला गुर्नपर्छ’, मेयर थापाले भन्नुभयो ।

सूर्यविनायक नगरपालिकाको १, ४, ५, ६ र ७ नम्बर वडाका भागहरूको १८ हजार १ सय ४ रोपनी क्षेत्रफलमा नयाँ नगर बनाउने लक्ष्य छ । यो आयोजनाको पूर्वी सिमाना सिर्जनानगर चोकदेखि अरनिको राजमार्ग, घ्याम्पे डाँडा सडक, सूर्यविनायक जंगलको फेदी हुँदै गुन्डु बसपार्कसम्म, पश्चिममा बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक, गाम्चाचोक हर्षचोकदेखि हनुमन्ते पुल हुँदै मध्यपुर थिमि बिरुवा रोडसम्म, उत्तरमा हनुमन्ते पुल सिर्जना चोक र दक्षिणमा गुन्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्मको जग्गा समावेश छ ।

 


प्रकाशित | २० आश्विन २०८०, शनिबार १६:०३