‘मिडियाले वेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेपछि सरकारले ‘मिडिया काउन्सिल विधेयक’ ल्यायो’

काठमाण्डौ : साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले मिडियाले अकर्मण्यता, वेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेपछि सरकारले मिडियलाई नियन्त्रण गर्न ‘मिडिया काउन्सिल विधेयक’ ल्याएको बताउनुभएको छ । ‘मिडिया काउन्सिल विधेयक’ बारे आफ्ना विचार राख्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक मिश्रले सरकारले नेपाली मिडियालाई नियन्त्रण गर्न चाहेको विधेयकबाट प्रष्ट हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख छ भन्ने हाम्रो ठहर हो ।’ साझा पार्टी मिडियालाई मर्यादित बनाउन सरकारसँग विभिन्न माग राखेको छ;-

१‍. संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयक अविलम्ब फिर्ता गरी सरोकारवालाहरुसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअनुकुल कानुन निर्माण गर्न साझा पार्टी सरकारसँग माग गर्दछ ।

. हामी स्वतन्त्र मिडियाको कट्टर हिमायति भए पनि मिडियाले पनि आफ्नो जिम्मेवारी वहन गर्नु पर्छ भन्नेमा सचेत छौँ। तसर्थ, साझा पार्टी स्वार्थको वझान (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुन नदिन तथा स्वतन्त्र र जिम्मेवार प्रेसको रक्षा गर्न पत्रकारहरुको दलैपिच्छे भगिनी संगठन बनाइनु हुँदैन भन्ने मान्यता राख्दछ । पत्रकारहरूको हकहितको रक्षाका लागि गैरराजनीतिक एउटा छाता संगठन हुनु पर्छ । दलआबद्ध अन्य सबै पत्रकार संगठन भङ्ग गरिनु पर्दछ भन्ने हाम्रो ठहर छ ।

नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको परिप्रेक्षमा प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध हामी मिडिया जगतसँग साथ रहने छौँ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १६:४८