चाँगुनारायण नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्न सरोकारवालाहरुसँग छलफल, यातायात सहज र दिगो बने उद्यमशिलताको बाटो खुल्ने सुझाव

भक्तपुर:  चाँगुनारायण नगरपालिकाले नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सरोकारवाला निकायसंग छलफल गरेको छ । नगरपालिका भित्र अधिकांश ग्रामिण क्षेत्रहरु रहेका छन् । सार्वजनिक यातायातको विकास गरि नगरबासीलाई सहज सेवा दिने नगरपालिकाको लक्ष्य रहेको छ ।

यस्तै मेयर जीवन खत्रीले सार्वजनिक यातायात विस्तार गर्दै स्थानीय स्तरमा उद्यमशिलता प्रवद्र्धन गर्ने लक्ष्य लिएको  बताउनु भयो ।

मेयर उद्यमशिलता विकास कार्यक्रमको हालसम्मको उपलब्धि एवं आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरुले नगरपालिकामा यातायात सेवालाई दिगो रुपमा सञ्चालन गर्नका लागि गहन रुपमा लाग्नु पर्ने सुझाव दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले नगरपालिकाले सरोकार निकायसंग छलफल गरेर अघि बढेकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, “नगरपालिकाले अघि सारेको यस्तो काममा म पहिलो पल्ट बोल्दैछु । किनभने अन्य नगरपालिकाले यसरी हामीलाई बोलाएकै छैन ।”

सरोकार निकायसंग छलफल गरेर अघि बढ्दा नागरिकलाई अझ प्रभावकारी रुपमा सेवा दिन सकिने कुरामा अध्यक्ष स्वाँरले जोड दिनु भयो । यातायातलाई सञ्चालन मात्रै गर्ने नभई समय अनुसार यसको प्रविधिमा परिवर्तन गर्दै अघि बढ्नु पर्ने उहाँको भनाई छ ।

हाल देशभर यातायत क्षेत्रमा १० अर्बको लगानी रहेको छ । यसमा १५ लाखले रोजगारी गरिरहेका छन् । ४ लाख हाराहारीमा सवारी साधन रहेका छन् भने यसमा ४० लाख बढी आस्रित रहेका छन् ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रमान कर्माचार्य, जनप्रतिनिधि तथा अन्य सरोकार निकायको सहभागिता रहेको थियो । सो अवसरमा बोल्नुहुदै महासंघका प्रमुख सल्लाहाकार कर्माचार्यले आफ्नो अनुभव र क्षमताको आधारमा गर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो । सार्वजनिक यातायातलाई सहज र दिगो बनाउन सकिएमा नगरपालिकाभित्र उद्यमशिलताका धेरै बाटोहरु खुल्ने उपस्थित वक्ताहरुले बताएका थिए ।

बेरोजगार युवाहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको मेयर उद्यमशिलता कार्यक्रमलाई निरन्तरता दिनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड विनियोजन गरेको छ । जसबाट थप युवाहरुलाई उद्यम विकासमा प्रोत्साहन एवं समावेश गर्ने लक्ष्य राखिएको छ ।

नगरपालिकाका जनप्रतिनिधिले अघि सारेको योजनाको उपस्थित वक्ताहरुले खुलेर प्रशंशा गरेका थिए । त्यसको कार्यान्वयनका लागि वक्ताहरुले विभिन्न सुझाव दिएका थिए ।

अहिलेको विश्वको समस्या भनेकै ग्लोबल वार्मिङ भएको भन्दै नेपालसंग भएको उर्जालाई कसरी अगाडि बढाउने भन्ने कुरा अहिले महत्वपूर्ण रहेको उनिहरुको भनाई थियो ।

यो भित्राउने त्यो भित्राउने भन्दा पनि भएको स्रोत साधनलाई कसरी सन्चालन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने यातायात क्षेत्रका प्रतिनिधिहरुको सुझाव थियो । उपत्यका भित्र गाडि बढि भएर जाम भएको नभै त्सयको व्यवस्थापन नभएर जाम भएको बताइएको थियो ।

No description available.

“सवारी व्यवस्थापन अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा हो । रुट म्योजमेन्ट हुनुपर्छ । रुट म्यानेजमेन्ट नभएसम्म नागरिकलाई सहज सेवा दिन सकिदैन । बाटोको अवस्था र चापलाई चै ध्यान दिनु पर्छ । चाँगुनारायण नगरपालिकाले बनाएको मोडालिटि सायद देशभरि नै लागु गर्न सकिन्छ । यो नमूनाको रुपमा देशभरिनै चाँगुनारायण नगरपालिकालाई सम्झिने अवस्था चै छ । सरकार सरकारबिचमा हामी निजी क्षेत्र पर्नु भएन । तीनै तहका सरकारबिच सहकार्य आवश्यक छ । नागरिकलाई यातायातको सेवा दिने कुरामा हाम्रो तर्फबाट कुनै पनि कमी हुने छैन”, महासंघका अध्यक्ष स्वारको भनाई छ ।


प्रकाशित | १४ आश्विन २०८०, आईतवार १८:५५