एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमको सचिव पदमा उम्मेदवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुन गइरहेको निर्वाचनमा एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गौतमले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

गौतम सन् २०११ देखि गैर आवासीय नेपाली संघमा क्रियाशिल रहँदै आउनु भएको छ । सन् २०१३-१५ म क्यानडाको प्रवक्ता, २०१७-१९ कार्यकालमा गैर आवासीय नेपाली संघको रक्तसंचार तथा प्रविधि हस्तान्तरण समितिको सदस्य, २०१९-२१ मा सोहि समितिको प्रचार संयोजक र २०२१-२३ मा गैर आवासीय नेपाली संघ क्यानडाको अध्यक्ष भई सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

नेपालको बाग्लुङ्ग जिल्लामा जन्मनु भएको गौतम नेपालीले समग्र नेपालको सामाजिक विकासमा हातेमालो गनुपर्दछ भन्ने उद्देश्यका साथ कोशी प्रदेशका लागी गैर आवासीय नेपाली संघको रक्तसंचार घुम्ती बस मेगा परियोजनाको संयोजक भइ काम गरिरहनु भएको छ । ‘मेरो नेतृत्वमा रहेको परियोजना समितिले हालसम्म २५ लाख नगद रकम संकलन गरिसकेको छ’, गौतमले भन्नुभयो ।

गौतमको नेतृत्वमा गैर आवासीय नेपाली संघ क्यानडाको निर्वाचन प्रणाली परिवर्तन गरि प्रत्यक्ष निर्वाचन प्रणाली र अनलाईन मतदान, नेपालको राज्य तहबाट उपेक्षामा परेका विशेष क्षमता भएका व्यक्तिहरुको शिक्षाका लागी करिब ९ लाख सहयोग, क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागी सूचनामुलक कार्यक्रम, समुदायमा एकता र सद्भाव वृद्धि, खेलकुद, संस्कृति र आर्थिक पारदर्शिता लगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरु भएका छन ।

‘गैर आवासीय नेपाली संघका विभिन्न ग्लोबल सम्मेलन, क्षेत्रीय सम्मेलनमा सहभागिता तथा अन्तरराष्ट्रिय समन्वय परिषदसंग निकट रहेर काम गरेको अनुभवको आधारमा संस्थामा गर्न सकिने सुधारका काम र दिन सक्ने आफ्नो योगदानको मूल्यांकन गरि आसन्न निर्वाचनमा गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, गौतमले भन्नु भएको छ ।


प्रकाशित | १२ आश्विन २०८०, शुक्रबार १६:५९