कसरी लाग्यो गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो ?

काठमाडौं: गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो लागेको छ ।  एकै दिन गएको २४ घण्टामा दुई हजारभन्दा बढी ठाउँमा डढेलो लागेको हो । नेपालमा मध्य फागुनदेखि मध्य बैशाखसम्म आगलागी र डढेलोका घटना बढी हुने गरे पनि यो बर्ष डढेलो लाग्ने क्रम फरक देखिएको छ । नेपालमा यसअघि एकै दिनमा सबैभन्दा बढी डढेलो लागेको तथ्याङ्क वैशाख १६ गते रेकर्ड गरिएको वन तथा भू–संरक्ष विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले जानकारी दिनुभयो । त्यस दिन एक हजार ८७१ स्थानमा वन डढेलो लागेको थियो ।

नासाको उक्त तस्बीर हेर्दा कैलालीका ३९७, दाङका २८७, सुर्खेतका २२०, डडेल्धुराका १५९, बर्दियाका १५८, सल्यानका १३९, कञ्चनपुरका १३७, डोटीका ११२, अर्घाखाँचीका ७६, प्यूठानका ६९, अछामका ६६, बाँकेका ५४, गुल्मीका २१, धादिङका १७, कपिलवस्तुका १६, दैलेखका नौ, रुपन्देही र सिन्धुपाल्चोकका सात÷सात, बैतडी र नुवाकोटका छ÷छ, स्थानमा तथा बझाङ, मकवानपुर, पाल्पा र सिन्धुलीका चार÷चार स्थानमा वन डढेलो लागेको देखिएको छ ।

त्यस्तै, अन्य १९ जिल्लामा दुई÷तीन स्थानमा डढेलो लागेको छ । सामान्यता नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो र ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । तर, यस वर्ष वन डढेलोको क्रम फरक देखिएको विज्ञ शर्माले जानकारी दिनुभयो ।

देशैभरका वनमा डढेलो लाग्ने क्रम बढेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको छ । वन तथा भू–संरक्षण विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले डढेलो लाग्न नदिन वनमा आगो नलगाउने, सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ बच्चालाई नदिने, सुकेका पात पतिंगर, बाँस, वेत, खर खडाईका साथ साथै सुकेका काठ दाउरा जथाभावी नजलाउने, सामुदायिक वनमा वन पथ बनाउने र एक ब्लकमा लागेको आगो अर्को क्षेत्रमा सल्कनबाट रोक्न सुरक्षा घेरा बनाउन सकिने बताउनुभयो ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १०:२६