चन्द्रगढी विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनाइने

दमक, १८ मंसिर

झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ ।

विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ ।

चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा मंगलबार झापाको विर्तामोडमा छलफल भएको छ ।

गुरुयोजना सार्वजनिकसहितको छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस विमानस्थललाई सुविधा सम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाए ।

अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उनले त्यसमा यो पनि परेको उहाँले जानकारी दिए । ‘जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या हल गरेर सबै यसमा लाग्नु पर्छ,’ उनले भने । विमानस्थलको स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उनको आग्रह थियो ।

मन्त्री भट्टराईले आगामी दस वर्षभित्रमा नेपालको नागरिक उड्डयन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गरे । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति र विकासका लागि जग्गा व्यवस्थापन सबैभन्दा महìवपूर्ण पाटो भएको बताए ।

उनले गुरुयोजनाअनुसार काम गर्न जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । झापा कारागार, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरू रहेको स्थान विमानस्थलका लागि आवश्यक हुने उनले जनाए । आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | १८ मंसिर २०७६, बुधबार ०७:०१