सूर्यविनायक नगरपालिकाले अगाडि बढायो बृहत्त खानेपानी परियोजना, वडा नंं ६ मा मेलम्चीको पानी वितरण शुभारम्भ, १ देखि ५ वडामा ६ महिनाभित्र वितरण हुने

भक्तपुर : सुर्यविनायक नगरपालिकाले बृहत्त खानेपानी परियोजनाको कामलाई तीब्रता साथ अगाडि बढाएको छ । परियोजना अन्तर्गत पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डुबजारमा रहेको मेलच्ची खानेपानी संकलन रिजर्भ ट्यांकीबाट खानेपानी वितरणको शुभारम्भ गरिएको हो ।

नगर प्रमुख बासुदेव थापाले शुक्रबार ग्राभिटी फ्लो अर्थात टंयाकीभन्दा तल्लो क्षेत्रका उपभोक्तालाई खानेपानी वितरण गर्ने कार्यको शुभारम्भ गर्नु भएको हो । नगर प्रमुख थापाले शुभारम्भ गर्नु भएको खानेपानीको प्रेसर टेस्टिङ गर्ने कार्य समेत सफल भएको छ ।

मेलम्चीको पानी अहिले बन्द रहे पनि ट्यांकीमा सुन्दरीजलबाट ल्याइएको बागमतीको पानी हालिएको छ । पहिलो चरणमा वडा नंं ६ भित्र पाईप लाईन विस्तार भएका ठाउँमा खानेपानी वितरण शूरु गरिएको हो । उपभोक्ताले खानेपानीको फाराम भरेपछि स्थानीयको मागबमोजीम थप पानी वितरण गरिनेछ ।

वडाध्यक्ष ईश्वर खड्काका अनुसार अहिलेसम्म एक सय भन्दा बढी उपभोक्ताले खानेपानीको लागि फाराम भरेका छन् । वडा नंं ६ मा मात्र करिब ५ सयको हाराहारीमा उपभोक्ता रहने अनुमान गरिएको छ ।

गत २०७९ चैतमा सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको थियो । सोही सहमतिअनुसार नगरपालिकाले ८ करोड भन्दा बढी बजेट विनियोजन गरेर पानी वितरणको लागि आवश्यक कार्य अगाडि बढाएको हो ।

दोस्रो चरणमा लिफ्टीङ गरेर सुवर्णेश्वर खानेपानी ट्यांकीमा पानी राखी १ देखि ६ सम्मका वडाका ट्याकीमा पानी खसालेर खानेपानी वितरण गरिनेछ । नगरपालिकाले टे«न्डर आह्वान गरिसकेकाले अबको एक साताभित्र सम्झौता गरिसक्ने जनाएको छ । दोस्रो चरणको काम आगामी ६ महिनाभित्र सम्पन्न गर्ने योजना छ ।

पाण्डोबजार ट्यांकीबाट नगरपालिकालाई चार ईन्च अर्थात कम्तिमा २० लाख लिटर पानी दिने सम्झौता छ । नगर प्रमुख थापाले मेलम्चीको पानी दिगो र भरपर्दो भएकाले पानी खुवाउनका लागि नगरपालिकाले आवश्यक पहलकदमी लिएको बताउनुभयो । परियोजना सम्पन्न गरेपछि ७ देखि १० वडासम्मका वडाबासीलाई पनि शुद्ध खानेपानीको ब्यवस्थापनका लागि अर्को योजना शूरु गरिने बताउनुभयो ।

नगरपालिकामा हालसम्म २१ हजार घरधुरीमा खानेपानी सुविधा प्राप्त हुदैं आएको छ । यो वर्षभित्र वडा नं १ देखि ६ सम्मका नागरिकहरुलाई मेलम्ची खानेपानीको सुविधासहित कम्तिमा ९५ प्रतिशत घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था मिलाइने नीति नगरपालिकाले लिएको छ ।

सहमतिअनुसार केयूकेएलले नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म नियमित खानेपानी आपूर्ति गर्ने र नगरपालिकाले खानेपानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापकीय प्रबन्धको व्यवस्थापन गरिरहेको नगर उपप्रमुख तथा नगरपालिकाको तर्फबाट परियोजना संयोजक सरिता तिमिल्सिना भट्टराईले बताउनुभयो ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले निकै जटिलताकाबीच पहिलो चरणमा वडा नंं ६ का उपभोक्तालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खड्का, ९ का वडाध्यक्ष भगवान केसी, वडा नंं १० का वडाध्यक्ष शिवराम राउतलगायत जनप्रतिनिधि तथा स्थानीयको बाक्लो सहभागिता थियो ।


प्रकाशित | १५ भाद्र २०८०, शुक्रबार २१:०६