एनआरएनएको विश्व सम्मेलन नजिकिदैं, चुनावी चहलपहल शूरु, नेतृत्वमा रस्साकस्सी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन आगामी १७ देखि २० अक्टोवरमा हुँदैछ । संघको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गर्ने घोषणासँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । विशेष गरि विश्व सम्मेलन नजिकिएसँगै नेतृत्वका लागि रस्साकस्सी शूरु भएको छ।

यो पटक संघको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माले खुलेरै चुनावी प्रचार प्रसारलाई तीब्र बनाउनु भएको छ भने वर्तमान अध्यक्ष रविना थापा र महासचिव डा. केशव पौडेलले पनि नेतृत्वको आंकाक्षा देखाउनु भएको छ । यद्यपी प्रचार प्रसार खासै देखिएको छैन ।

उता नेतृत्वका लागि वर्तमान कार्यकारी अध्यक्ष रहनु भएका डा. बद्री केसीले भने भित्री तयारी तीब्र पार्नु भएको छ । बाहिर प्रचार नगरे पनि केसीको भित्री तयारी उपाध्यक्षद्धय श्रेष्ठ र शर्मा भन्दा ब्यापक देखिन्छ भने नेतृत्वका लागि वर्तमान कोषाध्यक्ष सुनील साह पनि ‘पर्ख र हेर’को नीतिमा हुनुहुन्छ ।

नेतृत्वमा डा. केसी, उपाध्यक्ष श्रेष्ठ र शर्मा भिड्ने निश्चित जस्तै भएको छ । उपाध्यक्ष श्रेष्ठ, वर्तमान अध्यक्ष थापा, महासचिव डा. पौडेल र कोषाध्यक्ष साहबीच सहमति नभएमा भने नेतृत्वमा ६ जनाको प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै, महासचिवमा गौरीराज जोशीले पुन: उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ भने उपमहासचिव विनय अधिकारी, सचिव गंगाधर गौतम, एसिया प्याशिफिक संयोजक पारसमणी पोखरेल र एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ ।

सम्मेलनको तयारी ब्यापक

संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको पनि आयोजना गरिने भएको छ । सम्मेलनको तयारी स्वस्प जुनलाई १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् । संघले स्मार्ट एनआरएन एप मार्फत अगष्ट १० देखि २० तारिखसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न पन्जिकृत सदस्यहरुलाई आह्वान गरेको छ । प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिने भएकाले राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन आग्रह गरिएको हो ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैर आवासीय नेपाली प्रतिनिधिहरु,एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, ज्ञान सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल गरिने भएको छ ।


प्रकाशित | २६ श्रावण २०८०, शुक्रबार २३:१५