स्वीस रेडक्रसको सहयोगमा चाँगुनारायण नगरपालिकामा ‘स्वस्थ बुढ्यौली’ परियोजना संचालन हुँने

भक्तपुर : चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले नगरपालिका संगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गर्ने भएको छ । चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसका प्रतिनिधिहरु बीच परियोजना संचालनको विषयमा छलफल भएको छ ।

छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाई तथा कार्यक्रम संयोजक राजु राउतले ज्येष्ठ नागरिकहरुको जानसांख्यिक बनावट, परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

आज नगरपालिकामा आयोजित द्विपक्षीय छलफलमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत समावेश गरी स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि सक्षम बनाउनकोे लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा मार्फत स्वीस रेडक्रसले आर्थिक सहयोग तथा साझेदरीमा परियोजना संचालन गर्न गइरहेकोमा हार्दिक धन्यवाद दिनुहुदै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर तयार गरिने विस्तृत कार्यक्रम योजनामा संरक्षण, विपद् जोखिम न्यूनीकरण र जिविकोपार्जनका कुरालाई पनि समावेश गर्न सुझाव दिनुभयो ।

उहाँले चाँगुनारायण नगरपालिकाको तर्फबाट आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु समावेश गरेको जानकारी दिनुभयो ।

नगर प्रमुख खत्रीले मानव अधिकारको प्रत्याभुति, सुरक्षित र सम्मानित जीवन जिउन पाउने प्रत्येक ज्येष्ठ नागरिकको मानविय अधिकारको संरक्षण गर्दै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्दै सभ्य तथा स्वस्थ समाजको निर्माण आजको आवश्यकता रहेको जानकारी गराउँदै यस प्रकारको कार्यमा चाँगुनारायण नगरपालिका रेडक्रस लगायत अन्य गैह्र सरकारी संस्थासंग सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

छलफलमा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले रेडक्रस सधै सरकारको सहयोगी निकायको रुपमा मानवीय क्षेत्रमा कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले भक्तपुर जिल्ला शाखासंग सम्झौता गरी चाँगुनारायण नगरपालिकाले नगरवासी विरामीहरुलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण गरेकोमा आभार व्यक्त गर्नुहुदै विगत १ वर्षमा नगरपालिकाद्धारा गरिएको निःशुल्क रगत तथा रक्ततत्व वितरण कार्यको प्रगति प्रतिवेदन पनि हस्तान्तरण गर्नुभयो ।

स्वीस रेडक्रसका नेपाल प्रमुख कमल बरालले स्थानीय निकायसंग सहकार्य गर्न पाउँदा खुशी ब्यक्त गर्नुभयो । उहाँले सुर्यविनायक नगरपालिकाको वडा नं २, बालकोटमा गतवर्ष संचालित कार्यक्रमको उपलब्धीले गर्दा पनि यस प्रकारको परियोजना संचालनको लागि औचित्य पुष्टी गरेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले ज्येष्ठ नागरिकको लागि कार्यक्रम गर्नु भनेको हामीले आफ्नै लागि सुरक्षित समाजको निर्माण गर्नु हो भन्ने कुरा बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ बुढ्यौली परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।

नगरपालिकाको सभाहलमा सम्पन्न छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका कार्यवाहक सभापति कृष्णेश्वरी हाडा, मन्त्री परशुराम पाण्डे, चाँगुनारायण नगरपालिकाका वन वनतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधान, शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवाल, विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापा लगायतले ज्येष्ठ नागरिकहरुको लागि संचालन गरिने परियोजनाको महत्व तथा समावेश गरिनुपर्ने कार्यक्रम र गतिविधिहरुको बारेमा आफ्ना विचारहरु राख्नुभएको थियो । बैठकमा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, शाखा अधिकृत अनुप लामिछाने, भक्तपुर रेडक्रसका जिला सदस्य धर्मराज कार्की, कार्यालय प्रमुख उमा थापा पनि सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | १७ श्रावण २०८०, बुधबार २१:१७