सूर्यविनायक नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई थप अनुदान दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमाबच्चाको पोषणका लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम बराबर नगरपालिकाबाट थप अनुदान दिने भएको छ । नगर प्रमुख बासुदेव थापाले नगरपालिकाको नीति तथा कार्यक्रममा थप अनुदान दिने विषय समेट्नु भएको हो ।

महिला र पछाडि परेका वर्ग तथा समुदायलाई स्रोत साधनमाथिको अवसर, पहुँच र लाभको बाँडफाँटमा समान हिस्सेदारी स्थापित गर्ने, पछाडि परेका वर्ग र समुदायको आर्थिक सामाजिक सशक्तिकरणको लागि सीप, पूँजी र प्रविधिको पहुँचमा अभिबृद्धि गरी उनीहरुलाई उत्पादन तथा आय आर्जनसंग जोड्ने कार्यक्रम सञ्चालन गर्ने र महिलालाई उत्पादन, आयआर्जनसँग जोड्न उनीहरुको सीप र क्षमता अभिवृद्धिको लागि महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति पनि समावेश गरिएको छ ।

त्यस्तै, जोमिखमा परेका बालबालिकाको खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्मिलनका लागि स्थापित कोषलाई बृद्धि गरी सो कोषको परिचालनबाट बालबालिका जोखिममुक्त नगर स्थापना गर्ने र २०८३ सम्ममा बालमैत्री नगर बनाउनका लागि नगर तथा वडामा बजेटको व्यवस्था गरी नगरपालिका तथा सबै वडामा बालमैत्री कार्यक्रम सञ्चालन गरिने भएको छ ।


प्रकाशित | १६ श्रावण २०८०, मंगलवार २१:४०