सूर्यविनायकमा उपत्यका मेयर्स फोरमको बैठक : महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

भक्तपुर : सूर्यविनायक नगरपालिकाको ब्यवस्थापनमा उपत्यका मेयर्स फोरमको दोस्रो बैठक सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको-१० स्थित होटल भ्यू मा आयोजना गरिएको मेयर्स फोरमको बैठक सम्पन्न भएको हो ।

बैठकमा सहभागिलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खादा र भक्तपुरको भादगाउँले टोपी लगाएर स्वागत गर्नु भएको थियो ।

बैठक फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा भएको थियो । फोरमका महासचिव तथा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सञ्चालन गर्नु भएको बैठकमा उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थियो ।

बैठकले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । काठमाडौं उपत्यकाको फोहोरमैला ब्यवस्थापन सम्बन्धीत पालिकाले गर्ने गरि ल्याण्ड फिल्ड साईटसँग गरिएको सम्झौता रद्ध गर्न शहरी विकास मन्त्रालयलाई सिफारिस गरि पठाउने निर्णय गरेको छ ।

उपत्यकाको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनका लागि न्याण्ड फिल्ड साईटलाई मात्र उपयोग गर्ने गरि लगानी बोर्डले वेष्ट कम्पनीसँग १२ वर्षदेखि सम्झौता गरि आएकाले अहिलेको उच्चतम प्रविधि उपयोग गर्न सकिने गरि सो सम्झौता रद्ध गर्न मन्त्रालयलाई सिफारिस गरि पठाउने निर्णय गरेको हो ।

बैठकले ल्याण्ड फिल्ड साईटलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने र कुहिने/नकुहिने फोहोर वर्गीकरण गरेर छुट्याउने निर्णय पनि गरेको छ । अहिलेको प्रविधिको उपयोग गर्दै दुर्गन्ध नफैलने गरि ल्याण्ड फिल्ड साईटको निर्माण गर्नुपर्ने निश्कर्ष पनि निकालेको छ ।

बैठकमा सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, विभिन्न वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु पनि सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | ७ श्रावण २०८०, आईतवार २१:२७