एनआरएनए निर्वाचनका विषयमा तत्काल निश्पक्ष छानबीन समिति बनाउन महेश श्रेष्ठको माग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनए निर्वाचनका सम्वन्धमा तत्काल सवैले मान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको छ ।

११ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको श्रेठले तत्काल सर्वमान्य निश्पक्ष छानविन समिति बनाई समस्याको समाधान निकाल्न माग गर्नु भएको हो ।

श्रेष्ठले भन्नु भएको छ, ‘गत अक्टोबर, २०२३ मा सम्पन्न ११ औं महाधिवेशनमा संघकै इतिहासमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको निर्वाचनको स्वच्छता र निश्पक्षताका बारेमा गम्भीर प्रश्न उठेका छन् । त्यसैले यस सम्वन्धमा तत्काल सवैले मान्य निश्पक्ष छानविन समिति वनाई समस्याको समाधान निकाल्नु उपयुक्त हुनेछ भन्ने मैले ठानेको छु ।’

अहिले गैर आवासीय नेपाली संघ जटिल परिस्थितिमा गुज्रिरहेको र संघ प्रति ठूलो विश्वासको संकट आएको बताउँदै संघको दशौं र एघारौं महाधिवेशन तथा त्यस पछि भए गरिएका गतिविधिहरुले एनआरएनएको साख असाध्यै खस्किएको उल्लेख गर्नु भएको छ ।

संघलाई सबैको साझा र एकतावद्ध बनाउन तर्फ सक्दो पहल गर्न सरोकार सबैलाई आग्रह समेत गर्नु भएको छ । ११ औ अन्तराष्ट्रिय महाधिबेशनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अहिलेको जटिल परिस्थितिको निकासका लागि सुझावको अपेक्षा पनि राख्नु भएको छ ।


प्रकाशित | २४ कार्तिक २०८०, शुक्रबार १०:५०