भारतले लगायो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ निर्यातमा रोक

नयाँ दिल्ली । भारतले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतमा अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशिल्ड भ्याक्सिन निर्यातमा अस्थायी रोक लगाइएको हो ।

भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको जनाएको छ ।

भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन्। अहिले भारतभर कोरोनाविरुद्धको भ्याक्सिन माग भइरहेको छ।

त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म भारतले अन्य देशमा भ्याक्सिन पठाउन रोक लगाएको छ । भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशमा असर पर्नेछ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ। भारतले अहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन पठाइसकेको छ।

भारतमा हिजो करिब ४७ हजार नयाँ संक्रमित थपिएका थिए भने २७५ जना संक्रमितको ज्यान गएको थियो। सन् २०२१ मा एकै दिन फेला परेका संक्रमित र भएको मानवीय हताहती अहिलेसम्म नै धेरै हो। अप्रिल १ तारिखदेखि भारतले ४५ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने निर्णय गरेको छ।

भ्याक्सिन बनाउने भारतीय कम्पनी सीरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ ) ले भने खोप निर्यातमा रोक लगाएकोबारे कुनै आधिकारिक जानकारी दिएको छैन। तर, बेलायत, ब्राजिल, साउदी अरब र मोरक्को पठाउन लागिएको खोप तत्काललाई रोकिदिएको छ।


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार ०८:५०