सूर्यविनायकमा हालसम्म पाँच हजार बढी सडक बत्ती जडान, आगामी वर्षपनि निरन्तरता दिइने, १ करोड बजेट विनियोजन

भक्तपुर: सूर्यविनायक नगरपालिकाले हालसम्म पाँच हजार भन्दा बढी सडक बत्ती जडान गरेको छ । सडकजन्य जोखिम न्यूनीकरण र सुन्दर शहर निर्माण गर्ने उद्देश्यले विगत तीन आर्थिक वर्षदेखि संचालनमा रहेको नगर प्रमुख उज्यालो कार्यक्रम अन्र्तगत हाल सम्म पाँच हजार भन्दा वढि सडक बत्ती जडान भएको हो ।

नगर प्रमुख बासुदवे थापाले अझै पनि सडक बत्तीको माग भई रहेकोले आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गर्नु भएको छ । नगरक्षेत्रभित्रका सडक, चोक तथा सार्वजनिक स्थलमा उज्यालो नगर कार्यक्रम अन्तर्गत सडक बत्ती जडान र जडित बत्तीको नियमित संचालनको सुनिश्चितता गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले नगरक्षेत्रको सडक पूर्वाधार विकासलाई थप व्यवस्थित गरी सडकजन्य जोखिम न्यूनीकरण गर्न उज्यालो नगर कार्यक्रम अन्तर्गत नगरक्षेत्रभित्रका सडक चोक तथा सार्वजनिक स्थलमा अत्याधुनिक सडक बत्ति जडान र टोल वस्तीहरुमा सडक वत्ती जडानको कार्यलाई निरन्तरता दिन १ करोड बिनियोजन गरेको हो ।

त्यस्तै, बजेटमा सडक सुरक्षाको लागि ट्राफिक सचेतना, विकल्प सहित फूटपाथ व्यवस्थापन, ट्राफिक सामग्री व्यवस्थापनको लागि समेत आवश्यक बजेट व्यवस्था गरिएको छ ।


प्रकाशित | २१ असार २०८०, बिहीबार २०:२२