सूर्यविनायकका २१ हजार घरधुरी खानेपानीको पहुँचमा, आगामी वर्ष १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने योजना

भक्तपुर : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षभित्र १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानीको सुविधासहित खानेपानीको पहुँचमा पुर्याउने भएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको छ ।

नगरपालिकामा हालसम्म २१ हजार घरधुरीमा सहज र सरल खानेपानी सुविधा प्राप्त हुदैं आएकोमा आगामी आर्थिक वर्षभित्र वडा नं १ देखि ६ सम्मका नागरिकहरुलाई मेलम्ची खानेपानीको सुविधासहित कम्तिमा ९५ प्रतिशत घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा मेयर थापाले समेट्नु भएको छ ।

खानेपानीको प्रभावकारी व्यवस्थापनका लागि पानीको स्थानीय स्रोतहरुको पहिचान गरी उचित संरक्षण गर्ने, नगरपालिकाको जलस्रोत ऐन तथा तत् सम्बन्धी अन्य कानूनमा व्यवस्था भए बमोजिम खानेपानी उपभोक्ता समितिको दर्ता, नवीकरण र नियमनको व्यवस्था मिलाउने, संघ तथा प्रदेश सरकारको सहलगानीमा ठूला खानेपानी आयोजना कार्यान्वयन र मेलम्ची खानेपानी आयोजना बिस्तारको कामलाई तिव्रता दिने नीति लिएको छ ।

त्यस्तै, नगरपालिका क्षेत्रमा ढलको उचित व्यवस्थापन गर्ने, संघीय शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गतकोे ढल निकास तथा प्रशोधन केन्द्र चालु आर्थिक वर्षमै डि.पि.आर. सम्पन्न गरी संचालन र साना शहरी आयोजना अन्तर्गतका आयोजनाहरु कार्यान्वयनमा पहल गर्ने उल्लेख छ ।

सूर्यविनायक नगरपालिकाले तर्जुमा गरेको पूर्ण सरसफाइ रणनीतिक योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, नगरक्षेत्रको वातावरण संरक्षण तथा फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नेपाल सरकार, प्रदेश सरकार तथा विकास साझेदारसँगको सहयोगमा संभाव्यता अध्ययन थालनी गर्ने र। वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापनमा निजी, सहकारी, गैरसरकारी संस्था तथा अन्य नगरपालिकासँग समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रमा समावेश गरिएको छ ।

त्यस्तैगरि, फोहोर मैला व्यवस्थापनमा निजी क्षेत्रसंग सहकार्यको नीतिलाई निरन्तरता दिदैं हालसम्म ४५०० घरधुरीमा फोहर वर्गिकरण सम्बन्धी कार्य हुँदै आएकोमा आगामी आर्थिक वर्षभित्र कम्तिमा १० हजार थप घरधुरीमा फोहर मैला वर्गीकरणको कार्य गर्ने, नगरक्षेत्रभित्र सार्वजनिक जग्गा पहिचान गरी सार्वजनिक शौचालयको निर्माणको थालनी गर्ने पनि उल्लेख छ ।


प्रकाशित | १८ असार २०८०, सोमबार २१:०४