कागेश्वरी मनोहराका मेयर कार्कीको पहलमा मूलपानी क्रिकेट मैदानको नाम यथावत राख्ने क्यानको प्रतिबद्धता

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ मा रहेको माथिल्लो क्रिकेट रंगशालाको नाम मूलपानी क्रिकेट मैदानलाई नै यथावत राखीने भएको छ । नेपाल क्रिकेट संघको गत शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले मूलपानी रंगशालाको नाम “जयकुमार नाथ शाह मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको थियो ।

क्यानको सो निर्णयको कागेश्वरी मनोहरा नगरपालिका र नगर प्रमुखले आपत्ति जनाउनु भएपछि क्यानको ध्यानर्कषण गराइएको थियो । क्यानको निर्णय आएपछि नगर प्रमुख कार्कीले मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास कोही कसैबाट भए स्वीकार्य नहुने चेतावनी दिनु भएको थियो ।

नगरपालिकाका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सम्पूर्ण सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षणलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघले आइतबार नगरपालिकालाई प्रतिवद्धता पत्र पठाउँदै सबैको सहमतिमा अगाडि बढ्ने जनाएको थियो ।

संघले कागेश्वरी मनोहरा नगरपालिका तथा नगर प्रमुखको अनुरोधमा स्थानीय राजनीतिक दलका नेता, बुद्धिजीवी, भद्र भलादमी, स्थनीय युवा, स्थानीय क्रिकेट प्रेमीहरु तथा अन्य स्थनीय सरोकारवालाहरुसंग आवश्यक छलफल गरी सहमतिमै मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानको नामकरण गरिने प्रतिवद्धता व्यक्त गरेको थियो । तर नगर प्रमुख कार्कीसहित नगरबासीको निरन्तर दबाबले गर्दा क्रिकेट संघ मूलपानी क्रिकेट मैदानको नाम यथावत राख्न बाध्य भएको हो ।

सोमबार फेरि अर्को पत्र पठाउँदै क्यानले सम्पूर्ण नगरबासीको भावनाअनुरुप सबैको सहमतिमा मूलपानी क्रिकेट मैदानको नाम यथावत राख्ने जानकारी गराएसँगै सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगीत गरिएको नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।


प्रकाशित | १८ असार २०८०, सोमबार २१:३१