परिवारकै दोहोरो नागरिकता : रासन कार्ड भारतमा, वृद्धभत्ता नेपालमा

काठमाडौं: सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि नत्यागेको कान्तिपुर दैनिकमा खबर छ ।

भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।

२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ।

उनले नेपालमा पनि मतदान गरेको देखिन्छ। १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०८:३२