नेपालमा थपीए एक सय कोरोना संक्रमीत, एक विदेशीसहित थप दुई जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ। मंगलबार थप २०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ८४ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

एक विदेशीसहित थप दुईको मृत्यु

नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएका थप दुई जनाको मृत्यु भएको छ। जनकपुर नगरपालिका बस्ने कोरोना भाइरस संक्रमित एक पुरुष र त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

साउन २ गते भर्ना अस्पताल भर्ना गरिएका जनकपुरका ती व्यक्तिलाई भेन्टिलेटरमा राखी उपचार गरिएको र उनको साउन ६ गते मृत्यु भएको डा गौतमले बताउनुभयो ।

यस्तै, ४८ वर्षीय चिनियाँ महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी गराउनुभयो । डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो।

उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो।

ती महिलाको स्वाब परीक्षणका क्रममा मंगलबार कोरोना पोजिटिभ देखिएको हो। उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पतालको आइसियुमा उपचार भइरहेको थियो। तर बुधबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको डा दासले जानकारी दिनुभयो ।


प्रकाशित | ७ श्रावण २०७७, बुधबार १६:५१