एनआरएनए जापानको निर्वाचन पुन: गराउन माग

टोकियो – अनीता गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले अंग्रेजी नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका बिभिन्न क्षेत्रमा रहनु भएका एनआरएनएका अभियन्ता र शुभचिन्तकहरु, अन्य देशबाट जोडिनु भएका एनआरएनए अभियन्ता एबम संचारकर्मीहरुको सहभागिता थियो ।

कार्यक्रममा गुरुङले केन्द्रले नै बनाएको छानबिन समितीले धाँधली भएको भनेर प्रमाण सहित रिपोर्ट बुझाउदा पनि कारवाही नगरेर धाँधली गर्नेहरुलाई संरक्षण गरेकोले एनआरएनए जापानका शुभचिन्तकहरु, विधी र प्रकृयाका समर्थकहरुको सुझाब अनुसार २०१९-२१ को कार्यसमितिलाई निरन्तरता दिने गरि निर्णय भए अनुसार संस्थागत काम कारवाही अगाडि बढाइएको बताउनु भयो ।

एनआरएनए जापानमा आफ्नो नेतृत्वको समितिले गरेका गतिबिधीलाई मात्र संस्थागत रेकर्डमा राख्न केन्द्रमा जानकारी गराइएको र क्षेत्रीय समितीहरु तथा अन्य सामाजिक संघसंस्थाहरुलाई पनि सहकार्यका लागि प्रस्ताव गरेकोमा धेरैले सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा सहभागि अधिकांश वक्ताहरुले शुभकामना आदान प्रदान गर्नुका साथै एनआरएनए जापानको पुनः स्वच्छ र निष्पक्ष निर्वाचन हुनु पर्ने र धाँधलीपुर्ण निर्वाचनबाट आएकाहरुले एनआरएनए जापानको नाममा विभिन्न किसिमका गतिविधिहरु गर्दै आएको बताउँदै गैर आवासीय नेपालीहरुको भावनालाई नेतृत्व गर्न सक्ने कुनै पनि नैतिक आधार नभएको बताएका थिए ।

कार्यक्रममा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ, अन्तराष्ट्रिय कानुनविद एनआरएनए जापानका सल्लाहकार बलराम श्रेष्ठ, अध्यक्ष मण्डलका सदस्य सालिकराम भण्डारी, निवर्तमान महासचिव बुद्धी प्रसाद घिमिरे, पुर्व उपाध्यक्ष सरोज कुमार खत्री, एनआरएनए अभियन्ता किरण बर्मा, नरेन्द्र बस्नेत (दिनेश), पर्वत समाज जापानका निवर्तमान अध्यक्ष ने.ज.स.जापानका उपसभापती सुजन जोशी, तामाङ समाज जापानका अध्यक्ष रविना तामाङ, ने.ज.स.जाका उपसभापती राजेन्द्र जमरकट्टेल, ग्लोबल गोरखा समाजका सचिव विराट खनाल र निरन्जन गैर लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

भर्चुअल रुपमा सम्पन्न कार्यक्रमको सञ्चालन कालिका थापाले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले दिनु भएको सुझावको संकलन, टिपोट सचिव विकाश बस्नेतले गर्नु भएको थियो।

कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई तीन दिनभित्र सम्पर्कमा आउन आग्रह

त्यस्तै, गुरुङ नेतृत्वको कार्यसमितिको शुक्रबार बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ । बैठकले सन् २०१९-२०२१ मा रहने कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई कमिटिमा रही कार्य गर्न र तीन दिनभित्र सम्पर्कमा आउँन आग्रह गर्दै नआए पुर्नगठन गरि कमिटिलाई पूर्णता दिइने निर्णय गरेको छ ।

No description available.


प्रकाशित | १६ पुष २०७८, शुक्रबार १३:११