‘अब युवाको सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन गछौं’ 

मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनले नेपालको आर्थिक सम्मृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभएको छ । सम्मेलनको सफलतापछि अब यही आर्थिक वर्षभित्रै युवाको व्यापक सहभागितामा अन्तरराष्ट्रिय खोज, अध्ययन एवम् अनुसन्धान सम्मेलन आयोजना गरिने जानकारी गराउँदै अब मुलुक आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढ्ने बताउनुभयो ।

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको विचार ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउनुभयो । कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने स्पष्ट पार्नुभयो ।
सो अवसरमा ओलीले शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने भन्दै उद्देश्यअनुसार काम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसलाई देश र जनताप्रति साझा संस्थाका रुपमा विकास गर्नुपर्छ ।”


प्रकाशित | १७ चैत्र २०७५, आईतवार २०:१२