एनआरएनए अमेरिका : सदस्यताका लागि १३ हजार ९५६ जनाले दिए आवेदन

न्यूर्योक : गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सदस्यताका लागि करिब १४ हजारले आवेदन दिएका छन् । आगामी कार्यकाल सन् २०२३–२५ का लागि करिब १४ हजारले सदस्यताको लागि आवेदन दिएका हुन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले सदस्यता अभियान सम्पन्न भएको जानकारी गराउनुहुँदै यो अवधिमा १३ हजार ९५६ जनाले साधारण सदस्यका लागि आवेदन दिएको बताउनुभयो । यसमा दुई हजार चार सय सताउन्न जना आजीवन सदस्यहरूको विवरण समावेश गरिएको छैन ।

मेम्बर भेरिफिकेशन कमिटी र सुपर भिजन कमिटीका अनुसार ८ हजार ८३३ जनाको निवेदन स्वीकृत भइसकेको छ । जसमा ७८४ जनाको निवेदनमा केही समस्या देखिएकाले सच्याउन इमेल पठाइएको छ भने ३ हजार ६८६ जनाको निवेदन हेर्न बाकी रहेको छ । कुल निवेदक मध्ये ६४१ जनाले सदस्यता शुल्क तिरे पनि सबमिट र कन्फर्मेसन बटम थिच्न बिर्सेको अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो ।

अध्यक्ष सवेदीले एक विज्ञप्ति जारी गर्दै आइसीसी देखि एनसीसीसम्म संस्था भित्र र बाहिर भएका अन्तर सङ्घर्ष साथै केही विचलनहरूले निराशा छरेको अवस्थामा अघिल्लो पटक भन्दा केही सङ्ख्या कमी हुनु स्वाभाविक भएको भन्दै सदस्यता केही कमी हुनुमा अन्य धेरै कारण रहेको बताउनु भएको छ । अघिल्लो कार्यकालमा २१ हजार हाराहारीमा सदस्य थिए ।

‘गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीको प्राविधिक हिसाबले धेरै नै परिष्कृत गर्न बाकी रहेको एमआइएस सिस्टम, सदस्यताका लागि कम्प्युटर ल्यापटप लगायतका अरू डिभाइस र अनलाइन माध्यमलाई अस्वीकार गरिनु र स्मार्ट एनआरएनए एपमा सेल्फि लिँदा बारम्बार आउने समस्या लगायतका कतिपय कमजोरीले धेरै जना सदस्य हुन सक्नु भएको छैन’, जारी बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले नयाँ परिवेश, नयाँ तरिकाबाट सदस्य बन्दै गर्दा असहजताका बीच पनि सदस्य अभियान सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।

‘संस्थाको सुदृढीकरण, एनआरएन, अमेरिकालाई पारदर्शी, विश्वासनीय एबं रुपान्तरणका लागी संस्थाको नेतृत्व चयन गर्ने गहन जिम्मेवारी तपाईहरुमा निहित रहेको छ । एनआरएनए , अमेरिकाको सदस्यता लिएर संस्थालाई सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु’, पन्तले भन्नु भएको छ ।


प्रकाशित | ३ जेष्ठ २०८०, बुधबार ११:२०