आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धाभाव गरेर मनाइँदै

काठमाडौँ -जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा औंसी पनि भनिन्छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व धेरै छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराएर दिवङ्गत आमा र उनले गरेका काम सम्झने गर्दछन् ।

यसरी सुरु भयो यो पर्व ?

धेरै वर्ष पहिले एक ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए । कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो ।

दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।

सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।  यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । त्यसैले विभिन्न धर्मशास्त्रमा आमालाई पहिला सम्झिइएको छ । ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’


प्रकाशित | ७ बैशाख २०८०, बिहीबार १२:२१