प्रधानमन्त्री ओलीमाथि प्रचण्डको आरोप अनौतिक, अराजनैतिक र पार्टीको विधान विपरित : महेश बस्नेत

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पस्तुत गर्नुभएको आरोपपत्रको खण्डन गर्नुभएको छ । प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको आरोप अनैतिक, अराजनैतिक र पार्टीको विधान विपरीत भएको भन्दै खण्डन गर्नुभएको हो ।

अनुमानको भरमा झुटो आरोप लगाउनु नहुने बताउँदै सांसद बस्नेत भन्नुभयो, ‘बहुमत र अल्पमतको कुरा चल्दैन, अध्यक्षद्वयको समझदारी अनुसार अगाडी बढ्नुपर्छ । आरोपको लागि आरोप लगाउनु तथा अनुमानको भरमा झुटो आरोप लगाउनु हुँदैन ।’

उहाँले थप्दै भन्नुभएको छ, ‘प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका नाममा संगिन आरोप पत्र आएको छ । जसमा अनौतिक र अराजनीतिक आरोपमा लागेको छ । त्यस्तो हुनु पार्टीको विधान विपरित छ । त्यो फिर्ता हुनुपर्छ । सर्वसम्मत ढंगले प्रस्तावहरु तयार गरी छलफलको वातावरण बनाउनुपर्छ । १३ गतेसम्ममा प्रचण्डको प्रस्ताव फिर्ता भई सर्वसम्मत प्रस्ताव आउँछ । एकता प्रकृया मजवुद ढंगले अगाडी बढ्छ ।’

एपीवान टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले आगामी सचिवालयको बैठकका प्रस्ताव सर्वसम्मत हुने उल्लेख गर्दै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै सरकार पाँच वर्ष चल्ने बताउनुभयो ।

ओली, प्रचण्ड र माधवको सहकार्य नै एकता मजवुद हुने आधार हुने उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले प्रचण्डले अबका दिनमा पार्टीको महाधिवेशनको काममा विशेष ध्यान दिई एकताको महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्नैमा जोड दिनुभयो । नेकपाले जटिल संक्रमणकाललाई पुरा गर्दै हालको अवस्थामा आएको स्मरण गर्दै सांसद वस्नेतले नेतृत्वमा पेटभित्र भएका कालो अंगार ओकल्ने कार्य भएको अबका दिनमा सफा भएर जानेमा विश्वास व्यक्त गर्नुभयो ।

अब १० दिनको छलफलबाट पार्टी नेतृत्वमा रहेको बुझाई तथा कमिकमजोरीलाई सच्याउँदै पार्टी एक ढिक्का भई अगाडी बढ्ने उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको आरोपपत्रले पार्टीमा अस्वभाविक प्रकृयाहरु अगाडी बढाउन खोजेको बताउनुभयो ।


प्रकाशित | ५ मंसिर २०७७, शुक्रबार १०:३०