काठमाडौं : मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता शूरु भएको छ । मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप सञ्चालनको लागि महत्वपूर्ण भूमीका खेल्नु भएको कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले मंंगलबार औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै मेयर कार्कीले लामो समयदेखिको कागेश्वरी मनोहराबासीको सपना पूरा भएको बताउनुभयो ।

खेलकुद नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको नगरपालिकामा पहिलो पटक अन्तराष्टिय स्तरको प्रतियोगिता हुँदा अत्यन्तै उत्साहीत भएको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय स्तरसंग जोडिएको प्रतियोगिताप्रति सबैको चासो रहेको कारण प्रतियोगितालाई प्रतिष्ठित बनाउन लागिपर्नु भएको मेयर कार्कीले छोटो समययमा मैदानको पूर्वाधार व्यवस्थापन गर्न सफल भएकोमा समेत खुसी समेत ब्यक्त गर्नुभयो ।

विशेष गरि क्यानसँग सहकार्य गरेर नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएको हो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने र कागेश्वरी मनोहरालाई सबैले गर्व गर्न लायक बनाइने बताउनुभयो ।

मैदान वरपरको सरसफाईदेखि यसको ब्यवस्थापनमा नगरपालिकाको सहयोग भएकै कारण यति छोटो समयमा मैदान तयार भएको भन्दै क्यानले समेत मेयर कार्कीसहित नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । प्रतियोगिताको उद्घाटन समारोहमा क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, क्यानका कोषाध्यक्ष रोशन सिंह र प्रशान्त विक्रम मल्ललगायत विशिष्ट ब्यक्तीत्वहरु अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।
त्यस्तै, पहिलो दिन मुलपानी मैदानमा भएको खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको छ ।
प्रकाशित | ५ बैशाख २०८०, मंगलवार १६:२१