वार्ताको लागि कार्यदल गठन गर्दै कुँवर नेतृत्वको एनआरएनएले राख्यो १२ बुँदे शर्त, महाधिवेशन भौतीक रुपमै हुनुपर्ने अडान

काठमाडौं : बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले वार्ताको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । संघले एक बिज्ञप्ति जारी गर्दै वार्ताको लागि जानकी गुरुङको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । पाँच सदस्यीय कार्यदलमा सुरेन्द्र सिग्देल, कृष्ण केसी, प्रकास धमला र सदस्य सल्लाहकारमा धरम केसी रहनु भएको छ ।

टोलीलाई वार्ताको लागि मे ५ तारिखसम्मको समय दिइएको छ । वार्ताको लागि १२ बुँदे शर्त पनि अगाडि सारिएको छ ।

शर्तमा दुवै तर्फबाट १० औं महाधिवेशनको अस्तित्वलाई समान रुपमा स्वीकार गर्नुपर्ने र त्यसबाट चयन भएका दुवै पक्षका नेतृत्व र बाँकि पदमा गरिएका नियुक्तीहरु सबैलाई सम्मानजनक रुपमा मान्यता दिनुपर्ने अडान राखिएको छ ।

त्यस्तै, आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनका लागि सम्पूर्ण प्रतिनिधिहरु काठमाडौंमा उपस्थित भई भौतीक रुपमा हुनुपर्ने, दुवै पक्षबाट तयार पारिएका र पारित भएका दस्तावेजहरु खारेज गर्नुपर्ने लगायतका शर्त रहेका छन् ।

उता परराष्ट्र मन्त्रालयबाट मान्यता पाएको गैर आवासीय नेपाली संघले भने यसअघि नै उपाध्यक्ष डिवी क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ । आलोपालो सहित तीन जना अध्यक्ष रहेको कमिटिमा अहिले डा. बद्री केसी कार्यकारी अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।


प्रकाशित | ४ बैशाख २०८०, सोमबार २०:३७